४ आश्विन २०८१, शुक्रबार

नेप्से निरन्तर उछालिन थालेपछि नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत गरायो

प्रकाशित मिति :  30 November, 2020 9:02 pm


काठमाडौं,१५ मंसिर । 

पछिल्ला दिनमा शेयर बजारमा नेप्से लगातार उकालो लागेपछि नियमक निकाय नेपाल धितोपत्र बोर्डले सजगता अपनाएर मात्रै धितोपत्रमा लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको छ ।

बोर्डका प्रवक्ता निरज गिरीले धितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानको पछाडि नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत सङ्गठिन संस्थाको वित्तीय अवस्थाको विश्लेषण गरेर मात्रै लगानी गर्न आग्रह गरे ।

बोर्डका प्रवक्ता गिरीले आज विज्ञप्ति जारी गर्दै संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमता तथा आफ्नो लगानीको सुरक्षा आदिलाई समेत दृष्टिगत गरी सुझबुझपूर्ण रुपमा लगानी गर्न लगानीकर्तालाई आग्रह गरे ।

धितोपत्रको प्राथमिक बजारमा कूल आठ लाख लगानीकर्ता रहेका छन् । हितग्राही खाताको सङ्ख्या २१ लाख ८० हजार मात्रै रहेको छ । उक्त सङ्ख्या कूल जनसङ्ख्याको ७.२५ प्रतिशत रहेको बोर्डको भनाइ छ । यस्तै नेप्सेको अनलाइन कारोवार प्रणालीबाट ८५ प्रतिशत बढी कारोबार हुने गरेको छ । पछिल्ला दिनमा दोस्रो बजारमा कारोवार करम र नेप्से परिसूचक हालसम्मको उच्च अङ्कमा रहन गएको छ । जुन समग्र पूँजी बजारका लागि खुसीको विषयसमेत भएको बोर्ड प्रवक्ता गिरीले उल्लेख गरेका छन् ।

लगानीकर्ताले पूँजी बजारका केही स्थापित मूल्य र मान्यता अनुरुप सूचीकृत सङ्गठिन संस्थाको वित्तीय अवस्था, ती संस्थाको आधारभूत तथा प्राविधिक पक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै वित्तीय तथा आर्थिक परिसूचाङ्क लगायतका विवरणको विश्लेषण गरी लगानी गर्नु उत्तम हुने बोर्डको भनाइ छ ।

यसैबीच, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार लगातार उकालो लागेको नेप्से झण्डै २९ अङ्कले वृद्धि हुँदा कारोबार रकमसमेत झण्डै रु नौ अर्बको हाराहारीमा पुगेको छ ।

आइतबार झण्डै ७५ अङ्कले बढेको नेप्से आज २८.७९ विन्दुले वृद्धि हुँदा एक हजार ९९७.०५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.६३ विन्दुले बढेर ३८५।५६ मा पुगेको छ । कूल १९८ कम्पनीको दुई करोड ५१ लाख ९१ हजार ३१९ कित्ता शेयर रु आठ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६८२ मूल्यमा खरिद बिक्री भए ।

स्टकका अनुसार, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लागेको छ भने आठ उपसमूहको शेयर भने उकालो लागेको छ ।

बैंकिङ ७.३८, विकास बैंक ४८.१४, वित्त ५.४१ र सामूहिक लगानी कोष ०.१३ विन्दुले घटेको छ । यस्तै व्यापार १५१.०७, होटल ४।९६, जलविद्युत् ८९.२३, निर्जीबन बीमा १९३.०४, उत्पादन ७३.६३, अन्य ४०.२८, लघुवित्त ३७.६ र जीवन बीमा ८२३.३६ विन्दुले उकालो लाग्यो ।

कारोबार भएका कम्पनीमध्ये आज नेपाल लाइफ इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३८ करोड ४८ लाख ८६ हजार ७७२ बराबरको कारोबार भयो ।

नेपाल पुनर्बीमा कम्पनी रु ३७ करोड ३४ लाख ११ हजार १०९, प्रभु बैंक रु ३६ करोड ७१ लाख ३९ हजार ९३६, नेपाल बंगलादेश बैंक रु ३३ करोड ३३ लाख २७ हजार ७८४, ग्लोबल आइएमई बैंक रु २७ करोड दुई लाख ३२ हजार २१३, नेपाल इन्भेस्टमेन्ट बैंक रु २४ करोड ८६ लाख चार हजार ५२५, नेपाल बैंक रु २४ करोड ६० लाख ७५ हजार , नबिल बैंक रु २२ करोड ९७ लाख १३ हजार १४० र एनएमबी बैंक रु २२ करोड ५४ लाख ४१ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

आज कारोबार भएका कूल कम्पनीमध्ये ११० कम्पनीको शेयर उकालो लाग्यो भने ५६ कम्पनीको शेयर ओरालो लाग्दो छ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन । स्टकका अनुसार, युनाइटेड मोदी १०, माथिल्लो तामाकोशी ९.८०, ग्रिन डेभलपमेन्ट बैंक ९.७०, नेपाल बङ्गलादेश बैंक ९.६९, साञ्जेन जलविद्युत् कम्पनी ९.६२, रसुवागढी हाइड्रोपावर ९.६१, नेपाल लाइफ इन्सुरेन्स कम्पनी ९.४४, साल्ट टे«डङ कर्पोरेसनका लगानीकर्ताले ९.१७ प्रतिशतले कमाए ।

त्यसैगरी विशाल बजार कम्पनी १०, बोटलर्स नेपाल तराई ५.४२, लुम्बिनी विकास बैंक ४.१०, गरिमा विकास बैंक ३.७९, प्राइम बैंक ३.७७, श्री इन्भेस्टमेन्ट बैंक ३.६७, नेपाल एसबिआई बैंक ३.४४, महालक्ष्मी विकास बैंक ४.३७ र पोखरा फाइनान्सका लगानीकर्ताले ३.३२ प्रतिशतले गुमाए ।

आजको वृद्धिसँगै कूल बजार पूँजीकरण भने रु २६ खर्ब ७६ अर्ब ५२ करोड ४५ लाख ६० हजार ७९० बराबर पुगेको छ । नेप्से र कारोबारमा उच्च अङ्कले भइरहेको वृद्धिका कारण कूल बजार पूँजीकरणसमेत झण्डै रु २७ खर्ब बराबर पुगेको हो ।



प्रतिक्रिया दिनुहोस !