४ आश्विन २०८१, शुक्रबार

कृषि मन्त्रीसँग राष्ट्रपतिको छलफल, आत्मनिर्भरता बढाउने कार्य गर्न सुझाव

प्रकाशित मिति :  2 December, 2020 7:25 am


काठमाडौं,१६ मंसिर ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रका विकासका लागि आफ्नो तर्फबाट सकारात्मक भूमिका रहने आश्वासन दिएकी छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल लगायत मन्त्रालयका अधिकारीहरुसँग हिजो राष्ट्रपति कार्यालयमा छलफल गर्दै राष्ट्रपति भण्डारीले कृषि क्षेत्रको विकास र कृषिको समुन्नतिमा आफ्नो चासो र चिन्ता रहेको बताईन् । उनले दुरदराजका कृषिको हितलाई समेत ध्यानमा राखेर कृषि नीति,योजना बनाउन सुझाव समेत दिएको मन्त्रालयका प्रवक्ता डा. हरि बहादुर के.सी.ले जानकारी दिए ।

भेटका क्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि क्षेत्र प्राथमिकतामा पार्न नसकिएको गुनासो गरे । कृषि मन्त्री भुसालले कृषिकहरुको हित र कृषि क्षेत्रको सुधारका लागि मन्त्रालयले संरक्षित कृषि सुनिश्चित बचतको अबधारणा अवलम्बन गरी कार्यक्रम बजेट तय गर्ने गरिएको राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए ।

छलफलका क्रममा कृषि सचिव डा. योगेन्द्र कुमार कार्कीले मन्त्रालयका तर्फबाट कृषिको वर्तमान अवस्था, कृषि क्षेत्र सुधारका लागि हाल गरिएका प्रयासहरु र भावी सोचका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

कृषि मन्त्रालयको प्रस्तुतिकरण र धारणा सुनेपछि राष्ट्रपति भण्डारीले कृषि क्षेत्रमा धेरै अन्य निकायहरु पनि जोडिएकाले अन्तर मन्त्रालय र अन्तर विभाग समन्वय अझै प्रभावकारी बनाउन पर्ने, कृषि अनुदान कृषककोमा पुग्ने अवस्था सृजना गर्नुपर्ने, कृषि वस्तुको आत्मनिर्भरता बढाउने र आयात प्रतिस्थापन गर्ने गरी कार्य गर्नुपर्ने, बाली उत्पादन र बजारीकरणलाई जोड दिनुपर्ने लगायतका सुझाव दिएको प्रवक्ता केसीले जानकारी दिए । राष्ट्रपतिसँगको छटलफल भविष्यमा कृषि नीति, योजना र कार्यक्रम बनाउन अत्यन्त फलदायी भएको मन्त्रालयले ठहर गरेको छ ।



प्रतिक्रिया दिनुहोस !