४ आश्विन २०८१, शुक्रबार

महासंघका नवनिर्वाचित कार्यसमितिलाई नेपाल डेरी एसोसिएशनको बधाई तथा शुभकामना

प्रकाशित मिति :  2 December, 2020 6:01 pm


काठमाडौं,१७ मंसिर ।

नेपाल डेरी एसोसिएशनले नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभा एवं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको छ ।

काठमाडौंमा कार्यक्रम गरेर एसोसियसनले नवनिर्वाचित अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, कोषाध्यक्ष एवं वस्तुगत तर्फका कार्यकारिणी समिति सदस्यहरुलाई बधाई तथा शुभकामना दिएको हो ।

बधाई तथा शुभकामना कार्यक्रम कार्यक्रममा मन्तव्य राख्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघले आफ्नो कार्यकालमा प्रष्ट भिजिनरी प्लान बनाई अगाडि बढ्ने बताए । उनले डेरी क्षेत्र भनेको जन्मेदेखि मर्दासम्म नभई नहुने पूर्ण खाद्य पदार्थ भएको र दुग्ध क्षेत्रले ग्रामीण क्षेत्रको आर्थिक उन्नतीमा समेत विशेष टेवा पुयाउने भएकोले यसको विकासको लागि आफू निरन्तर लागि रहने प्रतिबद्धता जनाए ।

नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपाल डेरी एसोसिएशन उद्योग वाणिज्य महासंघको २२ वर्षदेखि पुरानो सदस्य रहेको र यसले निरन्तर आफ्नो गतिविधि गर्दै आइरहेकोमा विशेष धन्यवाद दिंदै अगामी दिनमा पनि सहकार्य गर्दै काम गर्ने बताए । एसोसियट उपाध्यक्ष रामचन्द्र संधाईले एसोसिएशनले सम्मान गर्दै हामीले गर्नु पर्ने कर्तव्यबोधको थप जिम्मेवारीको महसुस गराएको बताए ।

जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले योभन्दा पहिले आफू बस्तुगत उपाध्यक्ष रहँदा एसोसिएशनका साथीहरुले हरेक कुरामा रायसुझाव दिंदैं आएको र यस पटक पनि आफू जिल्ला नगरको उपाध्यक्ष भएता पनि उद्योग वाणिज्य तर्फ आफूले हेर्ने भएकोले एसोसिएशनसंग सहकार्य गर्दै अगाडि बढ्ने बताए । वस्तुगत उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले आफू पनि डेरी व्यवसाय भएकोले डेरी क्षेत्रको समस्या आफूले राम्रासंग बुझेको हुँदा आउँदा दिनमा यस क्षेत्रमा आउने हरेक समस्या समाधानको लागि आफू निरन्तर लागिरहने बताए ।

नेपाल डेरी एसोसिएशनका निर्वतमान अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ वस्तुगत तर्फका निर्वाचित सदस्य सुमित केडियाले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै डेरी क्षेत्रका नीतिगत समस्याहरु अवगत गराए । कार्यक्रममा उपस्थित नवनिर्वाचित पदाधिकारी एवं सदस्य महानुभावहरुलाई संस्थाको तर्फबाट अध्यक्ष राधाकृष्ण सापकोटा, उपाध्यक्ष राजन दाहाल, महासचिव प्रल्हाद दाहालले सम्मान पत्र प्रदान गर्दै विशेष सम्मान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !