३ आश्विन २०८१, बिहिबार

वरिष्ठ नेता पौडेल पक्राउ परेपछि कांग्रेस आक्रोशित,देशभर प्रतिवाद गर्ने चेतावनी

प्रकाशित मिति :  2 December, 2020 6:20 pm


 

काठमाडौं,१७ मंसिर ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले पक्राउ परेपछि कांग्रेस आक्रोशित बनेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले पौडेलको पक्राउपछि देशभर प्रतिरोध गर्ने जनाएको छ ।

तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल उद्घाटनको विषयलाई लिएर झडप भएपछि पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । तनाव बढ्ने देखिएपछि पुल आसपास मध्याह्न १२ बजेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । सत्तारुढ नेकपाका नेता कार्यकर्ताले पुल उद्घाटन गर्न पौडेलाई दिन नहुँने भन्दै विरोध गरिरहेका थिए ।

तर, पुलको उद्घाटनका लागि काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायत काङ्ग्रेस कार्यकर्ताको टोली अगाडि बढेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । प्रहरीले काङ्ग्रेस वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा लिएको थियो ।

पूर्वाधार निर्माण कार्यालयमार्फत सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि त्यसको विरोध गर्दै आजै बिहान राष्ट्रिय युवा सङ्घले विरोधको कार्यक्रम गरेको थियो । लगत्तै झडप हुन सक्ने स्थितिलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।
पौडेल पक्राउ लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सशक्त प्रतिवाद गर्ने बताएका छन् ।

विज्ञप्ति जारी गरेर उनले पौडेललाई पक्राउ गरेर वर्तमान सरकारको अधिनायकवादी आकांक्षा देखाएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, “वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पुरा हुन नदिन कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।”

पौडेलप्रतिको दुव्यर्वहार सर्वसत्तावादको संकेत भएको देउवाको दाबी छ ।



प्रतिक्रिया दिनुहोस !