४ आश्विन २०८१, शुक्रबार

नेकपामा सकस : बैठकमा कि प्रचण्डको प्रस्ताव छैन कि अध्यक्ष ओली छैनन् !

प्रकाशित मिति :  2 December, 2020 6:51 pm


काठमाडौं,१७ मंसिर ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित भएनन् ।

कात्तिक २८ गते अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा उपस्थित नहुने अडान राख्दै आएका ओली हिजोको बैठकमा भने उपस्थित भएका थिए । तर प्रस्ताव फिर्ता लिनै पर्ने अडान लिएका ओली आजको बैठकमा भने उपस्थित भएनन् । ओलीलेपनि मंसिर १३ गते प्रचण्डको प्रस्ताव विरुद्ध काउन्टर प्रस्ताव पेश गरेका थिए ।

प्रचण्ड पक्षले दुबै प्रस्तावमा छलफल हुनुपर्ने माग गरेपनि ओली तयार भएका छैनन् । आफ्नो अडान कायम राख्दै ओली आजको बैठकमा उपस्थित भएनन् । ओलीलाई बैठकमा ल्याउने प्रयासमा पूर्व निर्धारित १ बजेका लागि तय भएको बैठक १ घण्टा पछि सारिएको थियो ।

तर, सारिएको समयमा समेत ओली बैठकमा सहभागी नभएपछि केहीबेर सचिवालय बैठक बसेको थियो । बैठकले ओलीका लागि सोचविचार गर्न तीन दिनको समय दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

वरिष्ठ नेता झलनाथ खनालले पार्टीले विवेकपूर्ण निर्णय गर्ने भन्दै पार्टीको हृदय र दृष्टिकोण पनि व्यापक हुने भएकाले सबै नेता कार्यकर्तालाई समेट्ने योजनाअनुसार अध्यक्ष ओलीलाई तीन दिनको समय दिइएको जानकारी दिए ।

प्रस्तावले ओली र प्रचण्ड पक्षधरका नेताबीच निरन्तर तिक्तता बढेको छ । पार्टी विभाजन उन्मुख भएको भन्दै चिन्ता व्यक्त भईरहेको छ । तर दुबै अध्यक्षको प्रस्तावपछि परस्थिति असहज बनिरहेको छ । अर्को बैठक मंसिर २० गते बस्ने छ । सचिवालय बैठक लम्बिएसँगै मङ्सिर १८ गतेका लागि निर्धारित स्थायी कमिटी बैठक मङ्सिर २१ गतेसम्मका लागि सरेको छ । यसले अध्यक्ष ओली र अर्का अध्यक्षले पेश गरेको प्रस्ताव ‘इगो’को विषय बन्ने खतरा रहेको छ ।

सम्बन्धित समाचार

यो ‘कू’ को कुरा हो र फाटोतर्फको यात्राको ‘प्रस्ताव’ हो: ओली



प्रतिक्रिया दिनुहोस !