४ आश्विन २०८१, शुक्रबार

कृषि आयोजनाहरुलाई थप प्रभावकारी बनाइने,लम्पी स्किन रोग नियन्त्रणमा सजक रहन पशुसेवा विभागलाई निर्देशन

प्रकाशित मिति :  3 December, 2020 7:28 pm


काठमाडौं,१८ मंसिर ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा योगेन्द्रकुमार कार्कीले मन्त्रालय अन्तर्गत सञ्चालित आयोजनाहरुलाई थप प्रभावकारी ढंगले अघि बढाइने बताएका छन् । मन्त्रालय तथा अन्तर्गतका कार्यालयहरुको चालु आर्थिक वर्षको प्रथम चौमासिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै सचिव डा.कार्कीले यस्तो बताएका हुन् ।

आयोजनाहरुको विषेश किसिमको अवधी तथा विषेश किसिमको बजेट भएकाले अन्य कार्यालयका तुलनामा यिनीहरुले बढी प्रभावकारी ढंगले काम गर्नुपर्नेमा उनले जोड दिए ।

यसैगरी डा. कार्कीले पशुवस्तुमा देखिँदै आएको लम्पी स्किन रोग नियन्त्रणमा पनि सजक रहन पनि पशुसेवा विभागलाई निर्देशन दिएका छन् । बजार अनुगमन कार्यमा जाँदा सञ्चारकर्मीलाई अनिवार्य रुपमा समावेश गर्न पनि उनले निर्देशन दिएका छन् । कृषिमा भएका राम्रा कामहरु मिडियामा कम आउने गरेकाले पनि अनुगमनमा सञ्चारकर्मीलाई समावेश गर्नुपर्ने उनको तर्क थियो ।

आफूले सम्पादन गरेका राम्रा कामहरुलाई जनसमक्ष ल्याउन सञ्चारको सहयोग लिन पनि उनले निर्देशन दिएका थिए । करोडौं खर्च गरेर गरिएका राम्रा कामहरु मिडियामा ल्याउनका लागि केही रकम खर्चनु परे पनि पछि नहट्न उनले सहकर्मीहरुलाई निर्देशन दिएका थिए ।

नेपालमा खाद्यान्नको कमी नभए पनि सबैतिर धानकै भातमात्र खान थालिएका कारण खाद्यान्न आयात बढेको उनले बताए । केही दिनअघि राष्ट्रपतिसँग भएको भेटमा पनि आफूले यही तथ्य बताएको सचिव कार्कीले बताए । उनले भने, “नेपाली जनसंख्याका आधारमा वर्षमा १६ लाख टन खाद्यान्न बढी छ, तर भाते प्रवृत्तिले खाद्यान्नमा कमी देखिएको हो ।”

कार्यक्रममा पशुसेवा विभागका महानिर्देशक डा. वंशी शर्माले मासु र दुधमा नेपाल लगभग आत्म निर्भर रहेकाले यस्ता विषयमा सर्वसाधारणलाई जानकारी दिनुपर्ने सुझाव दिएका थिए ।

उनले मलको समस्या समाधानका लागि नीजि क्षेत्रलाई पनि समावेश गराइनुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा मन्त्रालयका सहसचिव डा. विमल निर्मलले पशुसेवाका क्षेत्रमा भएका उपलब्धीहरुलाई सर्वसाधारणसमक्ष पुर्याउनु पर्ने बताए । कृषि विभागका महानिर्देशक डा. गोविन्दप्रसाद शर्माले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि विभागबीचको सम्बन्ध सुधार गरे बढी प्रभावकारी ढंगले काम गर्न सकिने बताए ।



प्रतिक्रिया दिनुहोस !