४ आश्विन २०८१, शुक्रबार

सत्तारुढ नेकपाभित्रको विवाद गुटगत भेला तर्फ, काठमाडौंमा प्रचण्ड-नेपाल पक्षीय विद्यार्थीको भेला

प्रकाशित मिति :  4 December, 2020 5:20 pm


काठमाडौं,१९ मंसिर ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद चर्कदै जाँदा छुट्टा–छुट्टै भेला तथा कार्यक्रमको तहमा पुगेको छ ।

यसअघि चितवनमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको कार्यक्रममा ओली पक्षले अवरोध गरेको थियो भने आज कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुले काठमाडौंमा भेला गरेका छन् ।

सचिवालय बैठकमा तिक्तता जारी रहेका बेला गुटगत भेला समेत सुरु भएको हो । प्रचण्ड र नेपाल पक्षले मदन भण्डारी फाउण्डेशन मार्फत स्थानीय तहसम्म ओलीले गतिविधि गरेको आरोप लगाइरहेको छ । भेलाको अगुवाई प्रचण्ड र नेपाल निकट अनेरास्ववियुका नेताहरु रञ्जित तामाङ, सुदेश पराजुली, ओसिम आलम लगायतले गरेका छन् भने कार्यक्रमलाई नेकपा स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्य लेखनाथ न्यौपाने र रामकुमार झाँक्रीले सम्बोधन गरेका छन् ।

काठमाडौको थापाथलीस्थित इन्जिनियरिङ क्याम्पसमा भेला आयोजना भएको हो । अघिल्लो बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली सचिवालय बैठकमा उपस्थित नभएपछि फेरि २० गते बैठक बोलाईएको छ । शिर्ष तहमा सहमतिका लागि राष्ट्रपति समेत सकृय छिन् । उनले हिजो मात्रै ओली र प्रचण्डलाई छुट्टा छुट्टै बोलाएर छलफल गरेकी छन् भने आज पनि नेताहरु  अनौपचारिक प्रयासमा छन्  तर सहमति हुन सक्ने छाँट देखिएको छैन ।

दुबै पक्षका गुटगत भेला चल्न थालेका छन् । अध्यक्ष ओलीले प्रचण्डद्धारा कात्तिक २८ गते सचिवालयमा पेश भएको प्रतिवेदन फिर्ता हुनुपर्ने अडानमा छन् । आफूलेपनि मंसिर १३ गते जवाफसहित प्रस्ताव पेश त गरेका छन् तर ओलीले प्रचण्डको प्रस्ताव खारेज गरेको बताएका छन् र उनी यसका लागि छलफल गर्न तयार नभएको स्पष्ट पारेका छन् । यससँगै नेकपाभित्रको विवाद हरेक कोणबाट अफ्ठेरोमा छिर्न सुरु गरेको विश्लेषण हुन थालेको छ ।



प्रतिक्रिया दिनुहोस !