४ आश्विन २०८१, शुक्रबार

सहकारीबाट उत्पादित सामाग्रीहरुको बजारीकरण आवश्यकता छ : मन्त्री अर्याल

प्रकाशित मिति :  4 December, 2020 6:09 pm


काठमाडौं,१९ मंसिर ।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीबाट उत्पादित सामाग्रीहरुको बजारीकरणको आवश्यकता भएको बताएकी छन् ।

सहकारी बजारका विकास कार्यक्रमको सहयोगमा काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै मन्त्री अर्यालले अहिले उत्पादनको समस्या नरहेको र उत्पादित सामाग्रीको बजारीकरण प्रमुख चुनौतीको रुपमा रहेको बताइन् ।

उनले भनिन् “सहकारीमार्फत उत्पादित सामग्रीको बजारीकरण आजको प्रमुख चुनौती हो । यही कुरालाई दृष्टिगत गरेर सरकारले सहकारी बजार विकास कार्यक्रम सञ्चालन गरेको हो, सहकारीमार्फत उत्पादित सामग्री सहकारीमार्फत बजारीकरण गर्नका निम्ती यो कार्यक्रमको सञ्चालन गरिएको हो । यसलाई देशब्यापी बनाउन आवश्यक छ ।”

किसानले उत्पादन गरेको उत्पादित सामग्रीले बजार नपाएर सडकमा पोख्नुपर्ने, नष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सहकारी बजार विकास कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरिन् । “किसानले उत्पादन गरेको तरकारी, अण्डा, फलफूल, दुध लगायतका सामग्री बाटोमा पोख्नुपर्ने, नष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ । किसानलाई उत्साहित बनाउन सकिएन भने, उत्पादन गरेर मात्र प्रगती हुँदैन । किसानहरुलाई उत्साहित बनाउन बजारको व्यवस्थापन आवश्यक   छ ।”

यस्ता बजारहरु सरकारको पहलले मात्रै सबै ठाउँमा सम्भव नहुने भन्दै देशभर रहेको सहकारीहरुले पनि सहकार्य गर्न आवश्यक रहेको मन्त्री अर्यालको भनाई  थियो । “सहकारीसँग प्रशस्त पैसा छ । उनीहरुसँग पैसाको कमी छैन । सहकारीबाट उत्पादित सामग्रीहरुको बजार व्यवस्थापनका निम्ती बजारको व्यवस्था गर्ने कार्यमा सहकारी संस्थाहरुले पनि लगानी गर्नुपर्छ”, उनले भनिन् ।

किसानहरुले मेहनत गरेर उत्पादन गर्ने तर, त्यसको नाफा विचमा रहेका विचौलियाले पाउने कुराको अन्त्य गर्नुपर्ने भन्दै उनले किसानहरुको मर्का सम्बोधन गर्नका निम्ती पनि सहकारी बजार कार्यक्रम उपयुक्त भएको बताइन् । उनले भनिन्,“सहकारी बजारमा रहेको बिचौलिया घटाउने । किसान र बजारलाई सिधै भेट गराउने माध्यमका रुपमा यसलाई सरकारले अगाडी बढाएको हो । यसले किसानहरु बढी लाभान्वित हुन्छन् ।”

जागीरे मानसिकता छाडेर व्यवसायकि मानसिकताको विकास मुलुकको समृद्धीसँग जोडिएको भन्दै उनले प्राकृतिक स्रोत र मानव स्रोतको समिश्रणबाट नै समृद्धी सम्भव भएको बताइन् । सहकारी बजारले बढीभन्दा बढी अर्गानिक उत्पादनमा जोड दिनुपर्ने भन्दै उनले तरकारी, फलफूलमा प्रयोग भएका विषादीको परिक्षण गर्ने प्रविधिको पनि प्रयोग गर्न आवश्यक रहेको बताइन् ।

बचत तथा ऋण परिचालन गर्ने सहकारी संस्थाहरु मुलुकमा अत्यधिक भएको भन्दै मन्त्री अर्यालले त्यसलाई मर्ज गर्ने अभियान सञ्चालन गरिएको र अब व्यवसायिकता, उत्पादनसँग जोडिएका सहकारीलाई जोड दिनुपर्ने उल्लेख गरिन् । “अब संस्थाको संख्या मात्रै धेरै होइन । कम सहकारी संख्याका माध्यमबाट धेरैभन्दा धेरै काम गर्ने कुरामा जोड लिनुपर्छ”, मन्त्री अर्यालको भनाई थियो ।

 

 



प्रतिक्रिया दिनुहोस !