३ आश्विन २०८१, बिहिबार

नेकपा विवाद: दुबै अध्यक्षको प्रतिवेदन स्थायी कमिटीमा जाने

प्रकाशित मिति :  5 December, 2020 6:25 pm


काठमाडौं,२० मंसिर ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुबै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा जाने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा प्रस्ताव फिर्ता लिने सहमति नभएपछि जारी विवाद प्रस्तावसहित स्थायी कमिटीमा जाने भएको हो ।

स्थायी कमिटीको बैठक भोली दिउँसो १ बजेका लागि तय गरिएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव सचिवालयबाटै फिर्ता गराउन चाहन्थे । तर, सचिवालयमा अल्पमतमा परेपछि ओलीले केही बैठकमा समेत सहभागि भएनन् । आजको बैठकमा भने सहभागि भएका थिए ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सङ्कट निवारणबारे स्थायी कमिटीमा छलफल हुने जानकारी दिए । यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित प्रस्तावपत्रका सम्बन्धमा कार्यसूची बनाएर छलफल गर्ने विषयमा शीर्ष तहमा विवाद कायमै छ ।

दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर कमिटी र यही २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच अनौपचारिक छलफल जारी रहेपनि सहमति भएको छैन । गत भदौ २६ गतेको स्थायी कमिटीको बैठकले सहमतिका साथ शीर्षनेताहरुको कार्यविभाजन गरी सरकार र पार्टीको कामलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी चैतको अन्तिम साता पार्टीको एकता महाधिवेशन आयोजना तय गर्ने निर्णय गरेको थियो ।

पछिल्ला समय मन्त्रिपरिषद्मा हेरफेर, राजदूुत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्याकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न भई अध्यक्षद्वयबीच लिखित आरोप–प्रत्यारोपपत्र सार्वजनिक भएपछि विवाद बढेको छ । विवाद बढ्दै जादा गुटगत भेला समेत सुरु भएका छन् ।



प्रतिक्रिया दिनुहोस !