४ आश्विन २०८१, शुक्रबार

बासमती चामलको विषयलाई लिएर नेपाल,भारत र पाकिस्तानबीच विवाद,१४ वर्षदेखिको लडाइँमा नेपाल पनि छिर्‍यो

प्रकाशित मिति :  9 December, 2020 7:46 am


काठमाडौं,२४ मंसिर ।

बासमती चामलको विषयलाई लिएर नेपाल,भारत र पाकिस्तानबीच विवाद भएको छ ।

बासमती धानको भौगोलिक संकेत(Geographical indication) एकल हक अधिकार स्थापित गर्न भारतले युरोपियन युनियनमा निवेदन पेश गरेपछि नेपाल सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भारत र पाकिस्तानबीच यस विषयमा १४ वर्षदेखि लडाइँ जारी छ ।

युरोपियन युनियनले भने सन् २००६ मा आफ्नो विशेष नियम अनुसार भन्दै बासमती चामललाई भारत र पाकिस्तानको संयुक्त उत्पादनको मान्यता दिएको थियो । तर, भारतले यसलाई अस्वीकार गर्दै आफ्नो एकल स्वामित्व दाबी गरेपछि पाकिस्तानसँग विवाद चर्किएको छ भने नेपालले पनि आपत्ति जनाएको छ ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले बासमती धान परापूर्वकालदेखि नेपालको विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने र विदेशमा समेत निर्यात हुने गरेको भन्दै भारतको एकल दाबीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर के.सी.ले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“भारतले बासमती धानको भौगोलिक संकेत(Geographical indication ) हक अधिकार स्थापित गर्न युरोपियन युनियनमा निवेदन पेश गरेको विषयमा नेपाल सरकारको गम्भीर ध्याकर्षण भएको छ ।”

विज्ञप्तिमा थप भनिएकोछ ,“उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकारवालाको बैठकले बाममतीमा नेपालको समेत हक स्थापित हुनुपर्ने भएकाले सो प्रयोजनका लागि नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय कृषि अनुवंशिक श्रोत केन्द्र,खुमलटार मार्फत तोकिएको म्यादभित्र दाबी विरोध गर्ने निर्णय गरेको छ ।”

कृषि मन्त्रालयका अनुसार नेपालको तर्फबाट राष्ट्रिय कृषि अनुवंशिक श्रोत केन्द्रले छिट्टै आधिकारीक दाबी पेश गर्ने जनाएको छ । पाकिस्तानले पनि यसै हप्ता त्यहाँका प्रधानमन्त्रीका वाणिज्य सल्लाहकार अब्दुल रजाक दाउदको अध्यक्षतामा बसेको बैठक बसेर बासमती धानमा भारतले भौगोलिक संकेत हक दाबीविरुद्ध उजुरी गर्ने निर्णय गरेको छ ।

पाकिस्तानले बासमती धानमाथी आफ्नो अधिकार दाबी गर्ने निर्णयपनि गरेको छ । पाकिस्तानमा बासमती चामल ठूलो परिमाणमा उत्पादन हुने गरेको भन्दै यसमा दिल्लीलाई दाबी गर्ने अधिकार नभएको बताएको छ । भारतले एकल रुपमा बासमती धानको भौगोलिक संकेत(Geographical indication) हक अधिकार स्थापित गर्न गत सेप्टेम्बर ११ मा युरोपियन युनियनमा निवेदन पेश गरेको थियो ।

भारतले बासमती चामल भारतमा उत्पति भएको यद्यपी यस्तै खाले धान पाकिस्तानमा उत्पादन हुने गरेकाले उसको हक नहुने तर्क गरेको छ । पाकिस्तानको वाणिज्य मन्त्रालयले भने ५ लाख देखि ७ लाख टन बासमती चामल विश्वका विभिन्न देशहरुमा निर्यात गर्ने गरेकोमा युरोपियन युनियन मुलुकहरुमा मात्रै २ लाखदेखि २ लाख ५० हजार टन निर्यात हुने गरेको तथ्य सार्वजनिक गरेको छ ।

नेपालले भने बासमती चामलको अवस्थाबारे औपचारिक तत्थ्याङ्क सार्वजनिक नगरेपनि भौगोलिक संकेत(Geographical indication) हक अधिकार स्थापित गर्न युरोपियन युनियनमा निवेदन पेश गर्ने निर्णय गरेको छ । बासमती चामलको विषयलाई लिएर भारत र पाकिस्तानबीच १४ वर्षदेखि लडाइँ जारी रहदा नेपालले भने बल्ल चाल पाएको टिप्पणी भएको छ ।



प्रतिक्रिया दिनुहोस !