४ आश्विन २०८१, शुक्रबार

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण,परम्परागत राजनीतिको दुष्चक्रबाट मुक्त गर्ने दाबी

प्रकाशित मिति :  9 December, 2020 8:17 pm


काठमाडौं,२४ मंसिर ।

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएको छ । आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको दिन पारेर विवेकशील नेपाली दल र साझा पार्टी पुनः एकीकृत भएको घोषणा गरेका हुन् ।

एकीकरणपछि जारी गरिएको घोषणा पत्रमा भनिएको छ,”आज मिति ०७७ मङ्सिर २४ गते, बुधबार, भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन विवेकशील नेपाली दल र साझा पार्टी पुनः एकीकृत भएको घोषणा गर्न पाउँदा हामी अत्यन्तै हर्षित भएका छौँ।”

विवेकशील नेपाली दल र साझा पार्टी २०७४ साउन ११ गते विवेकशील साझा पार्टीको रूपमा एकीकृत भएका थिए । तर पछि विभाजन भयो । विभाजन भएको घटनालाई उल्लेख गर्दै घोषणा पत्रमा भनिएको छ,”त्यो एकीकरण हाम्रै कतिपय व्यवहारिक कमजोरीहरूका कारण लामो समय रहेन। परिणामस्वरूप २०७५ पौष २७ गते पार्टी विभाजित भयो। त्यो निकै दुःखद घटना थियो। पार्टी विभाजनले वैकल्पिक राजनीति, यसको वैचारिक, राजनीतिक अपेक्षा र एक उन्नत पार्टी स्थापना गर्ने हाम्रो साझा लक्षलाई नै गम्भीर क्षति पुर्‍यायो।”

फेरि भएको एकीकरणले परम्परागत राजनीतिको दुष्चक्रबाट नेपाली समाजलाई मुक्त गर्ने घोषणा पत्रमा विश्वास व्यक्त गरिएको छ । घोषणा पत्रमा भनिएको छ, “यो एकीकरणले भ्रष्टाचार, कुशासन र राज्यहीनताको अवस्थाबाट थिलथिलो भएका नेपाली नागरिकका सपनाहरूलाई पुनर्जागृत गर्दै राजनीतिमा नयाँ आशा सञ्चार गर्नेछ भन्नेमा पनि हामी विश्वस्त छौँ।

हामी बहुलवादमा आधारित “कल्याणकारी लोकतन्त्र”, समन्वयात्मक बजार अर्थतन्त्र, सामाजिक न्यायको वैचारिक आलोकमा मूल्यमान्यता सहितको अग्रगामी राजनीतिक विकल्प स्थापना गर्न चाहन्छौँ।”

एकीकृत पार्टीको अध्यक्षमा रवीन्द्र मिश्र रहेका छन् भने मिलन पाण्डे संयोजक भएका छन् ।  एकीकरणमा पार्टीको नाम विवेकशील साझा पार्टी राख्ने सहमति भएको छ भने लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ । एकीकृत पार्टीको केन्द्रीय समितिमा दुबै पार्टीबाट ६५ /६५ जना सदस्यसहित १३० जना केन्द्रीय रहने सहमति भएको छ । एकीकृत पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले दबै पक्षबाट बराबर १३/१३ जना सदस्यहरु रहेन सहमति भएको छ ।



प्रतिक्रिया दिनुहोस !