३ आश्विन २०८१, बिहिबार

दुई अध्यक्ष मिलाउन मुख्यमन्त्री पोख्रेलको कसरत, नयाँ विषयमा छलफल गर्न सकिने प्रस्ताव

प्रकाशित मिति :  12 December, 2020 9:37 pm


काठमाडौं, २७ मंसिर ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य शंकर पोख्रेल दुई अध्यक्षबीचको विवाद समाधानका लागि कसरत गरेका छन् ।

आज दिउँसो कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ‘कुनै नयाँ विषयमा छलफल गर्न सकिन्छ कि ?’ भनेर जिज्ञासा राखेका छन् । पोख्रेलले कुनै प्रस्ताव लिएर नगएपनि नयाँ विषयमा छलफल गर्न सकिने बताएका थिए ।

जवाफमा प्रचण्डले अब सबै कुरा सामुहिक छलफल हुने बताएका थिए । छोटो छलफलका क्रममा प्रचण्डले आफू एक्लैले कुनै धारणा नबनाउने पोख्रेललाई बताएका थिए । प्रचण्ड सचिवालय स्रोतले भन्यो, “उहाँ आउनुभएको थियो । कुनै नयाँ विषयमा छलफल गर्न सकिन्छ कि भन्ने उहाँको भनाई थियो तर अध्यक्ष प्रचण्डले आफूले एक्लै कुनै धारणा नबनाउने जवाफ दिनुभयो । भेट धेरै भएन छोटो भेटघाट हो ।”

मुख्यमन्त्री पोख्रेल प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र हुन् । पार्टीभित्र अल्पमतमा परेपछि ओलीले आफ्ना विश्वासपात्र परिचालन गरेको आँकलन गरिएको छ ।

ओलीले अर्का नेता सुवासचन्द्र नेम्वाङलाई पनि परिचालन गरेका छन् । मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकमा ओली सहभागि नभएर पत्र पठाएका थिए । अर्को बैठक भोली बस्दैछ ।

अध्यक्ष प्रचण्डले कात्तिक २८ गते पेश गरेको प्रस्ताव फिर्ता लिनुपर्ने ओलीको अडान कायमै छ । तर प्रचण्ड नेपाल पक्षले ओलीले मंसिर १३ गते पेश गरेको प्रस्ताव र प्रचण्डको प्रस्ताव पार्टी कमिटीमा छलफल गर्नुपर्ने अडान राखेका छन् । स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा ओलीपक्षका नेताहरु सहमतिको सम्भावना खोज्ने प्रयासमा लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस !