४ आश्विन २०८१, शुक्रबार

नेपाल र बंगलादेशबीच वाणिज्य, पर्यटन र पूर्वाधार विकासमा सहकार्य गर्न उपराष्ट्रपति पुनको जोड

प्रकाशित मिति :  14 December, 2020 6:43 pm


काठमाडौं,२९ मंसिर । 

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि बङ्गलादेशका नवनियुक्त राजदूत सलाहुद्धीन नोमन चौधरीले आज शिष्टाचार भेटवार्ता गरेका छन् । उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा उपराष्ट्रपति पुनले बङ्गलादेश नेपालको घनिष्ठ मित्र राष्ट्र भएको उल्लेख गर्दै स्वतन्त्रतापछि बङ्गलादेशले हासिल गरेको प्रगतिका लागि बधाई दिँदै बङ्गलादेशको स्वतन्त्रतामा समर्थन गर्ने नेपाल सातौँ राष्ट्र भएको स्मरण गरे । उपराष्ट्रपतिले बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदको भ्रमणले नेपाल र बङ्गलादेशको सम्बन्ध अझै उचाइमा पुगेको उल्लेख गर्दै नवनियुक्त राजदूत चौधरीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुदृढ र विस्तार हुने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपतिले वाणिज्य, पर्यटन र पूर्वाधार विकासमा दुई देशले बलियो सहकार्य गर्नुपर्ने बताउँदै यसबीचमा आउने साझा समस्या र चुनौतीहरुको साझा रुपमै सामना गर्नुपर्नेमा जोड दिए । उनले विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) बाट विश्व छिट्टै सहज अवस्थामा फर्कने र पर्यटन गतिविधि बढ्ने बताउँँदै नेपाल विदेशी पर्यटकलाई स्वागत गर्न आतुर रहेको बताए ।

उपराष्ट्रपतिसँगको भेटमा बङ्गलादेशका राजदूत चौधरीले नेपाल बङ्गलादेशको अत्यन्तै घनिष्ठ मित्र राष्ट्र भएको बताए । बङ्गलादेशको स्वतन्त्रतापछि नेपालले गर्दै आएको सहयोगका लागि उनले धन्यवाद दिए । उनले बङ्गलादेशका राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत बनेको उल्लेख गर्दै नेपाल आउनुअघि भएको भेटमा राष्ट्रपति हमिदले आफ्नो नेपाल भ्रमणको क्रममा पाएको न्यानो आतिथ्यता र स्वागत सत्कारका लागि नेपाली नेता र जनतालाई कृतज्ञता सुनाई दिनुभनेको बताए ।

राजदूत चौधरीले वाणिज्य र पर्यटनमा नेपालसँग बङ्गलादेशले सहकार्य विस्तार गर्न चाहेको जानकारी गराए । उनले आगामी साता बङ्गलादेशबाट नेपालले मल किन्नेसम्बन्धी सम्झौता हुने समेत बताए । उनले प्राकृतिक सौन्दर्यताका लागि बङ्गलादेशीका लागि नेपाल पहिलो रोजाई भएको बताए । “साहसिक पर्यटनका लागि बङ्गलादेशीहरुको पहिलो गन्तव्य नेपाल हो”, उनले भने ।

राजदूत चौधरीले बङ्गलादेश स्वच्छ ऊर्जाप्रति प्रतिबद्ध भएको उल्लेख गर्दै सोको लागि नेपालको बिजुली किन्न चाहेको बताए । “बङ्गलादेश नेपालको बिजुली किनेर भारत हुँदै लैजान चाहन्छ । किनकी यो स्वच्छ ऊर्जा हो”, उनले भने । राजदूत चौधरीले उपराष्ट्रपति पुनसँग उपयुक्त समयमा बङ्गलादेशको भ्रमण गर्न आग्रह गर्दै सो भ्रमणले दुई देशको सम्बन्ध अझै सुदृढ हुने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !