३ आश्विन २०८१, बिहिबार

समन्वय अभावका कारण आफू संवैधानिक परिषद बैठकमा नगएको सभामुख सापकोटाको स्पष्टिकरण

प्रकाशित मिति :  15 December, 2020 7:34 pm


फाईल फोटो

काठमाडौं,३० मंसिर । 

सभामुख अग्निप्रसाद सापकोटाले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका कारण आफू संवैधानिक परिषदको बैठकमा नगएको स्पष्टिकरण दिएका छन् ।

परिषद्को अस्ति र आज बिहानको बैठकमा अनुपस्थित भएका सापकोटाले राज्य संचालनमा दीर्घकालनीन एवं दुरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्ने बताएका छन् ।

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, राज्य संचालनमा दीर्घकालनीन एवं दुरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ ।

मंसिर २८ गते संघीय संसद सेवा दिवस २०७७ को पूर्वनिर्धारित कार्यक्रम अन्तरगत विहान ८ : ३० बजे संघीय संसद, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक स्वयम् सभामुखले अध्यक्षता गरेका कारण उपस्थित हुन नसकेको यस अघि नै जानकारी गराइसकिएको विज्ञप्तिमा छ ।

विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधान, संविधानले निर्दिष्ट गरेको विधिको शासन, शक्ति पृथकिकरण र सन्तुलनको सिद्धान्तलाई यहाँनेर स्मरण गर्नु उपयुक्त हुन्छ । राज्यका तीन अङ्ग कार्यपालिका, व्यबस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधि सभाको विपक्षी दलको नेता समेत सहभागी रहने संवैधानिक परिषदको बैठकले लिने निर्णयले दुरगामी महत्व राख्छ भन्ने विषयलाई सम्माननीय सभामुखज्यूले गहिरोसँग आत्मसात गर्नु भएको छ ।”

संसदलाई जीवन्त र जनमुखी बनाउने सूत्र वाक्यलाई हृदयङ्गम गरि जननिर्वाचित सर्बोच्च निकाय संघीय संसदको गरिमालाई माथि उठाउने विषयलाई सदैब सभामुख सापकोटाले जोड दिँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,”जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने थलो, संघीय संसद प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएदेखि उहाँले निष्पक्ष र तटस्थ रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउनु भएको अवगत नै छ । उहाँ संघीय संसदको गरिमा कायम राख्दै संवैधानिक परिषदको मर्यादा र जिम्मेवारीप्रति सदैब सचेत हुनुहुन्छ ।”



प्रतिक्रिया दिनुहोस !