४ आश्विन २०८१, शुक्रबार

सभापति देउवा र नेता नेपालसँग उद्योग वाणिज्य महासङ्घका पदाधिकारीको भेट

प्रकाशित मिति :  16 December, 2020 7:56 pm


काठमाडौं, १ पुस । 

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीले आज भेट गरेका छन् ।

महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र सङ्घई र कोषाध्यक्ष सुकुन्तलाल हीराचन सम्मिलित प्रतिनिधिमण्डलले भेटवार्तामा नयाँ नेतृत्वले कोभिड–१९ सङ्कटको अवस्थामा मुलुकको अर्थतन्त्रलाई सकुशलमाथि उठाउन निजी क्षेत्रको सुझावसहितको भिजन पेपर तयारी गरिरहेको जानकारी गराएका थिए ।

अध्यक्ष गोल्छाले सरोकारवाला निकाय एवं विज्ञहरूको समेत व्यापक सल्लाह, परामर्शमा रिसर्च र तथ्यमा आधारित भिजन पेपर तयार गरी सरकार तथा राजनीतिक दलहरूमा पेश गर्ने कार्यक्रम रहेको बताएका थिए । साथै उनले निजी क्षेत्रले सरकार तथा राजनीतिक दलहरूबाट मुलुकको आर्थिक पुनःरुत्थानका लागि उत्तिकै सहयोगको अपेक्षा गरेको समेत उल्लेख गरेका थिए ।

सो अवसरमा सभापति देउवाले महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै उद्योग व्यवसायको विकास विस्तारमा सक्रियतापूर्वक लाग्न नयाँ समूह सफल हुने विश्वास व्यक्त गरे । आजै उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि भेट गरेको महासङ्घले जनाएको छ ।

सो अवसरमा नेता नेपालले आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने र आउँदा दिनमा पनि निरन्तर संवाद र सहकार्यमा रहने विश्वास दिलाएका थिए ।



प्रतिक्रिया दिनुहोस !