४ आश्विन २०८१, शुक्रबार

बंगलादेशबाट ५० हजार मेट्रिक टन मल आउने पक्का, दुई देशबीच सहमतिमा हस्ताक्षर

प्रकाशित मिति :  17 December, 2020 4:55 pm


काठमाडौं,२ पुस ।

बंगलादेशबाट मल आउने पक्का भएको छ । सरकारले मल ल्याउन कृषि सामाग्री कम्पनी लिमिटेड र बंगलादेशको बंगलादेश केमिकल ईन्डष्ट्रिज कर्पोरेशनबीच सम्झौता हस्ताक्षर भएको हो ।

मल ल्याउन कृषि सामाग्री कम्पनी लिमिटेड र बंगलादेशको बंगलादेश केमिकल ईन्डष्ट्रिज कर्पोरेशनबीच सम्झौता हस्ताक्षर भएको कषि तथा पशु पन्छी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले जानकारी दिए ।

हस्ताक्षरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तर्फबाट कृषि सामाग्रीका महाप्रबन्धक नेत्र भण्डारी र बंगलादेशको उद्योग मन्त्रालयको तर्फबाट अध्यक्ष मोहमद अमिन उल अहसनले हस्ताक्षर गरेका छन् ।

सुरूमा पैंचोमा मल ल्याउने भनिएपनि सहज हुने भएपछि सरकारी तहमै (जी टु जी ) मल खरिद गर्ने सम्झौता भएको हो । अब तीन महिना भित्र मल नेपाल आइपुग्ने बंगलादेशमा रहेका मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत अरूण जिसीले जानकारी दिए ।

युरिया मलको अन्तर्राष्ट्रिय फर्मूला मूल्य अनुसार प्रति मेट्रिक टन अमेरिकी डलर २५९.१९५ मा सम्झौता भएको छ । उक्त मूल्य नेपाल सरकारले अनुदानमा प्रदान गर्ने युरिया मलको पछिल्लो अन्तर्राष्ट्रिय बोलपत्रको मूल्य भन्दा प्रति मेट्रिक टन अमेरिकी डलर १८.५२ ले न्यून हो ।

कृषि सामग्री कम्पनी लिमिटेडले एल सी खोलेको दश दिन पश्चात मल लोडिङ्ग सुरु हुने सम्झौतामा उल्लेख छ भने ५० हजार मेट्रिक टन मल दुइ महिना भित्र बंगलादेशले उपलब्ध गराइसक्ने छ ।

बंगलादेशको चट्टोग्रामबाट उक्त मल मङ्गला जल मार्ग मार्फत जेस्वर वा खुल्ना हुदै रोहनपुर/सिंहबाद हुदै रेल मार्ग मार्फत कृषि सामग्री कम्पनीको विराटनगर, विरगंज र भैरहवाका गोदामसम्म आपूर्ति हुनेछन् । साथै केहि मात्रामा मल चट्टोग्रामबाट भारतको कोलकत्ता वा हल्दिया हुदै नेपाल प्रवेश हुनेछ ।

कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर के.सी.ले बल्क र कार्गो गरि दुई तरिकाले चार लटमा मल आयात गर्ने सम्झौता भएको बताएका छन् । उनले भनेका छन्, “यो मलको आयात सँगै नेपालमा रासायनिक मलको अभावको समस्या समाधान हुनेछ ।”

यो सिजनमा खेती गरिने बालिलाई आवश्यक पर्ने युरिया डीएपी र पोटास मल प्रशस्त मात्रामा रहेको के.सी.को भनाई छ ।



प्रतिक्रिया दिनुहोस !