३ आश्विन २०८१, बिहिबार

प्रचण्ड-नेपाल समूहको पहिलो प्रहार बागमती प्रदेशमा, मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावसँगै ३ मन्त्रीको राजीनामा

प्रकाशित मिति :  25 December, 2020 5:00 pm


काठमाडौं, १० पुस ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड—नेपाल समूहले पहिलो प्रहार बागमती प्रदेशमा गरेको छ । उक्त समूहले ओली पक्षीय नेता रहेका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।

अविश्वास प्रस्ताव दर्ता गरेलगत्तै प्रचण्ड-नेपाल पक्षका ३ मन्त्रीले राजिनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजिनामा दिएका हुन् समूहिक राजिनामा पत्रमा उनीहरुले भनेका छन् ।

“मुख्यमन्त्रीकै कारण जनताप्रति सरकार जवाफदेहीविहिन बन्दै जान लागेको कारण यहि नेतृत्वमा प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने निष्कर्षसहित आजैका मितिबाट लागू हुने गरि राजिनामा दिएका छौं । ”

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजित भएको छ । एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड नेपालले गरेका छन् । प्रतिनिधि सभा विघटनको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन छ । प्रतिनिधि सभा विघटनपछि प्रचण्ड माधव नेपाल पक्षले प्रदेशमा ध्यान केन्द्रित गरेको छ । जस अन्तर्गत पहिलो प्रहार बागमती प्रदेशमा गरेको छ ।

यसअघि संघीय सरकारका ७ मन्त्रीले राजिनामा दिइसकेका छन् । पुस ५ गते नै शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, उर्जा मन्त्री वर्षमान पुन, कृषि मन्त्री घनश्याम भुसाल, खानेपानी मन्त्री विना मगर, योगेश भट्टराई, वनमन्त्री शक्ति बहादुर बस्नेत, श्रममन्त्री रामेश्वर राय यादवले राजिनामा दिएका थिए ।

 



प्रतिक्रिया दिनुहोस !