२० आश्विन २०८१, आइतबार

बागमतीपछि प्रदेश १ मा प्रचण्ड-नेपाल पक्षद्धारा अविश्वासको प्रस्ताव दर्ता

प्रकाशित मिति :  27 December, 2020 1:19 pm


काठमाडौं, १३ पुस ।

नेकपा विभाजनसँगै बागमती प्रदेशपछि प्रचण्ड नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।

राईले अर्थमन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेपछि प्रचण्ड नेपाल पक्षले पनि आजै अविश्वासको प्रस्ताव दर्ता गरेको हो । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३७ सांसदको हस्ताक्षर छ ।

अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री आङ्बो छन् । समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् । प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहे पनि प्रचण्ड–माधव नेपाल समूहका थप सांसदले हस्ताक्षर गर्न छुटे प्रचण्ड नेपाल पक्षको दाबी छ ।

प्रदेश १ मा ९३ सांसद छन् । जसमा नेकपाका ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् । प्रचण्ड–माधव समूहले आफ्नो पक्षमा ४० बढी सांसद रहेको दाबी गरको छ । मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद खुलेका छन् ।

प्रचण्ड—नेपाल समूहले पुस १० गते बागमती प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । उक्त समूहले ओली पक्षीय नेता रहेका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।

बागमती प्रदेशमा अविश्वास प्रस्ताव दर्ता गरेलगत्तै प्रचण्ड-नेपाल पक्षका ३ मन्त्रीले राजिनामा दिइसकेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजिनामा दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !