४ आश्विन २०८१, शुक्रबार

सरकार र आन्दोलनरत उखु किसानबीच सहमति,एक्काइस दिनभित्र सबै बक्यौता रकम उपलब्ध गराइने

प्रकाशित मिति :  28 December, 2020 9:16 pm


काठमाडौं । उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत उखु किसान र सरकारबीच सहमति भएको छ । मङ्सिर २८ गतेदेखि आन्दोलन गर्दै आएका किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीबीच आज मन्त्रालयमा भएको बार्तामा चार बुँदे सहमति भएको   हो ।

एक्काइस दिनभित्र सबै चिनी उद्योगको बक्यौता रकम उपलब्ध गराउन सहमति भएको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिए ।

१६ दिनदेखि आन्दोलनरत किसानले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर जिल्ला फर्कने सहमति भएको छ । एक्काइस दिनभित्र पनि उखुको बक्यौता रकम भुक्तानी नगर्ने चिनी मिलका सञ्चालकलाई मन्त्रालयले कानूनी रुपमा कारबाही गर्ने सहमति भएको छ ।

यसैगरी आजको वार्तामा उखुको अनुदान रकम र भुक्तानी गर्नुपर्ने रकम फरक परेकालगायत विभिन्न विषय तथा समस्या समाधानका लागि एक अध्ययन समिति गठन गरिएको प्रवक्ता रेग्मीले जानकारी दिए ।

उनका अनुसार सो समितिमा गृह मन्त्रालय, अर्थ मन्त्रालय र कृषि मन्त्रालयका प्रतिनिधि रहनेछन् । किसानले विभिन्न उद्योगबाट रु ९२ करोड बक्यौता रकम लिन बाँकी रहेको बताउँदै आएका छन् भने उद्योग मन्त्रालयको तथ्याङ्कमा रु ६५ करोड मात्र बाँकी रहेको छ ।

                                                                 सरकार र उखु किसानबीच भएको सहमति पत्र



प्रतिक्रिया दिनुहोस !