२० आश्विन २०८१, आइतबार

विप्लव नेतृत्वको नेकपासहित ४ कम्युनिष्ट पार्टीद्धारा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति

प्रकाशित मिति :  29 December, 2020 12:23 pm


काठमाडौं ।

विभिन्न ४ वटा नेपाल कम्युनिष्ट पार्टीले रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति गरेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी),ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पाटी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालबीच मोर्चा निर्माण गर्ने सहमति भएको हो ।

संयुक्त मोर्चामा ४ वटै पार्टीका प्रमुखले हस्ताक्षर गरेका छन् । सहमतिमा भनिएको छ, “केपी ओली सरकारको निरंकुशता,फासिवाद र दलाल तथा प्रतिकृयावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ । यसको अवधारणा,संरचना र आगामी कार्यक्रम शीघ्र घोषणा गरिनेछ ।”

४ वटा पार्टीले वैदेशिक शक्तिको आड भरोसा र इशारामा वर्तमान सरकारले संसद विघटन गरेको ठहर गरेको छ । जारी विज्ञप्तिमा भनिएको छ,”वर्तमान दलाल तथा प्रतिकृयावादी संसदीय व्यवस्था र नेपाली श्रमजीवि जनताबीचको अन्तरविरोध चर्कदै गएको छ । दलाल तथा प्रतिकृयावादी पुँजीवादका विभिन्न गुटहरुका बीचमा पनि अन्तविरोध चर्कदै गएको छ । दलला तथा प्रतिकृयावादी सत्ता,व्यवस्था र सरकारमा आएको गम्भीर संकटलाई फासीवादी तरिकाले हल गर्ने दुष्प्रयास स्वरुप तथा वैदेशिक शक्तिको आड भरोसा र इसारामा केपी सरकारले संसद विघटन गरेको हो भन्ने हाम्रो ठम्याई रहेको छ ।”

सरकारद्धारा प्रतिवन्धित नेकपा महासचिव विप्लव, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी,नेपालका संयोजक आहुतिद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “केपी ओलीको कदम निरंकुश एवं फासिवादी केपी सरकार र उनको पार्टीको आन्तरिक मामिला नभएर दलाल तथा प्रतिकृयावादी संसदीय व्यवस्थाको घोतक हो ।”

अहिले देश र जनताले भोगेका समस्याहरुको वास्तवकि जनपक्षीय समाधान संसद पुर्नस्थापना वा मध्यावधि निर्वाचन वा यसै व्यवस्थाभित्र केवल सरकार परिवर्तन मात्रै हुन नसक्ने ४ कम्युनिष्ट पार्टीको ठहर छ । विज्ञप्तिमा भनिएको छ,”यसका लागि दलाल तथा प्रतिकृयावादी राज्यसत्ताको अन्त्य र संघीय जनगणतन्त्र वैज्ञानिक समाजवादको स्थापना हुनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस !