५ आश्विन २०८१, शनिबार

कारोबार दैनिकविरुद्ध नेपाल पत्रकार महासंघ आक्रमक, सञ्चालकको घर घेरेर छिमेकीलाई पर्चा बाँडिने

प्रकाशित मिति :  29 December, 2020 1:11 pm


काठमाडौं । श्रमजीवि पत्रकारलाई विनाकारण निष्काशन गरेको र श्रमजीवि पत्रकार ऐन कार्यान्वयन नगरेको भन्दै नेपाल पत्रकार महासंघले कारोबार दैनिक विरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पहिलो चरणको आन्दोलनबाट पनि समस्या समाधान नभएपछि महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो । यसअघि उक्त दैनिको कार्यालय घेराउ गरेको महासंघले अब सञ्चालक तथा व्यवस्थापकको घर घेराउ गर्ने निर्णय गरेको छ । महासंघद्धारा सार्वजनिक कार्यक्रम अनुसार अब मिडिया सञ्चालकका छिमेकीलाई समेत पत्रकारलाई पीडित बनाएकोबारे जानकारी गराइने छ ।

महासंघको अगुवाईमा पुस १६ गते कालो ब्यानरसहित मिडिया व्यवस्थापक तथा सञ्चालकको निवास घेराउ गरिने छ भने १९ गते प्लेकार्डसहित निवास घेराउ गरिने छ । त्यस्तै २१ गते फोटोसहित निवास अगाडि कोणसभा र २३ गते सञ्चालकका छिमेकमा माइकिङसहित पर्चा वितरण गरिने छ ।

महासंघले आन्दोलनका लागि सचिव प्रकाश थापाको नेतृत्वमा समिति गठन गरेको छ । महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“ टिबिआइ पब्लिकेशन प्रकाशित कारोबार राष्ट्रिय दैनिकमा निष्काशित श्रमजीवि पत्रकारहरुको ससम्मान पुनःर्वहाली,श्रमजीवि पत्रकार ऐनको पूर्ण कार्यान्वयन, सरकारले तोकेको पारिश्रमिक(स्केल बमोजिम) उपलब्ध गराउनुपर्ने, ६ महिना अवधि पुरा गरिसकेको पत्रकार कर्मचारीहरुलाई स्थायी गर्नुपर्नेलगायतका माग राखि यसअघि महासंघकै नेतृत्वमा पटक पटक आन्दोलन छलफल र संवादबाट हल गर्न प्रयत्न भएपनि अहिलेसम्म कुनै सुनुवाई भएन । यसर्थ, पछिल्लो धादिङ केन्द्रीय समितिको बैठकको निर्णय अनुसार निम्नानुसारको संघर्ष समिति र पूर्वघोषित आन्दोलनको पहिलो चरणको कार्यक्रम घोषणा गर्न महासंघ बाध्य भएको जानकारी गराईन्छ । ”

आन्दोलन अगावै व्यवस्थापन पक्षले चाहेमा वार्तामार्फत समस्या हल गर्न तयार रहेको महासंघले स्पष्ट पारेको छ । महासंघले आन्दोलनका लागि २ सय ३३ सदस्यीय संघर्ष समिति समेत गठन गरेको छ ।

जसमा महासंघ अन्तर्गत उपत्यका प्रदेशका काठमाडौं,ललितपुर र भक्तपुर जिल्लाबाट ४० जना, प्रतिष्ठान प्रदेश अन्तर्गत प्रतिशठान शाखाबाट ६० जना एशोसियत प्रदेश अन्तर्गत २४ जना सञ्चारगृहका पीडित पत्रकार कर्मचारीबाट ४७ जना र विभिन्न सञ्चारसम्बद्ध संघ संगठनबाट ६० जना रहेका छन् ।

कारोबार राष्ट्रिय दैनिक गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्टले सञ्चालन गरेको पत्रिका हो ।



प्रतिक्रिया दिनुहोस !