१० मंसिर २०८१, सोमबार

उधारो सहमतिपछि एक उखु किसानको हृदयघातले निधन, कृषि मन्त्रालयसँगको छलफल स्थगित

प्रकाशित मिति :  29 December, 2020 2:53 pm


काठमाडौं ।

बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका किसान र सरकारबीच सम्झौता भएको सुनेपछि एक किसानको हृदयघातका कारण निधन भएको छ ।

आन्दोलनका लागि काठमाडौं आएका सर्लाहीका नारायणराय यादव (भगत) को हिजो उधारो सम्झौता भएको सुनेपछि हृदयघात भएका    थियो । भुक्तानी नै नलिइकन सरकार र आन्दोलनकारी बीच सम्झौता भएको सुनेपछि उनलाई हृदयघात भएको जनता समाजवादी पार्टी नेपालका नेता केदारनन्दन चौधरीले बताए ।

सम्झौता हुने बित्तिकै भगतले भुक्तानी नलिइकन सम्झौता किन गरेको ? भन्दै असन्तुष्टि जनाएका थिए । उनले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६५ हजार रुपियाँ लिन बाँकी थियो । तीन वर्षदेखि बक्यौता रहेपछि उनी तनावमा देखिन्थे ।  भगत अचानक ट्वाइलेटमा लडेर बेहोस भएका  थिए । उनलाई उपचारका लागि गंगालाल अस्पतालमा पुराएपनि निधन भएको थियो ।

२१ दिनभित्र सरकारले उद्योगीबाट बक्यौता रकम उपलब्ध गराइदिने सहमति भएको थियो । सहमतिमा धेरैजसो किसान खुशी छैनन् । गत वर्षपनि धोका पाएकाले उनीहरु भुक्तानी लिएर मात्रै सहमति गर्ने पक्षमा दिए । धेरैजासो किसानले विचौलियाले सरकारसँग सहमति गरेको गुनासो गरेका छन् ।

उखु किसानको निधन भएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बोलाएको छलफल पनि स्थगित भएको छ । विशेष कारण भन्दै मध्यान्ह १२ बजेका लागि बोलाइएको उखु किसानसँगको छलफल स्थगित गरिएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !