२० आश्विन २०८१, आइतबार

वैशाखपछि केपी ओली प्रधानमन्त्री रहँदैनन्ः प्रचण्ड

प्रकाशित मिति :  29 December, 2020 5:31 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रचण्ड–माधव समूहले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने दाबी गरेको छ ।

प्रतिनिधि सभा विघटनको विरोधमा काठमाडौंमा भएको सभालाई सम्बोधन गर्दै पुष्पकमल दाहाल प्रचण्डले बैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने दाबी गरेका छन् ।

उनले चुनाव गर्नका लागि प्रधानमन्त्री ओलीले मध्यावधि घोषणा नगरेको दाबी गरे । उनले भने,”कतिपय मानिसहरुलाई कम्युनिस्ट पार्टी विभाजित भएको, मध्यावधि भइहाल्यो भने हामीले चुनाव जितिन्छ भनेर अलिअलि सपना देख्न खोजेको सुनिन्छ,त्यो दिवासपना हो भन्ठान्छु । हुनेबाला चुनाव घोषणा भएकै होइन ।”

चुनाव हुन्छ भन्नेमा स्वयंम केपी शर्मा ओलीलाई भरोसा नभएको उनले दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओली गोटी बनेको भन्दै उनी बैशाखपछि प्रधानमन्त्री नरहने दाबी गरे । उनले भने “केपी ओली गोटी भएका हुन् । वैशाखपछि उनी प्रधानमन्त्री पनि रहँदैनन्, नेपालको राजनीतिक इतिहासबाट तिनको पत्तासाथ हुनेबाला छ ।”

आफूहरूको पक्षमा ७० प्रतिशत केन्द्रीय सदस्य रहेको भन्दै प्रचण्डले चुनाव चिन्हमा कुनै विवाद गरिराख्नु नपर्ने बताए। ओलीले असंवैधानिक कदम चालेकोले जनताले संघर्षबाटै सच्याउनुपर्ने भन्दै अध्यक्ष प्रचण्डले प्रतिगमन नसच्चिएसम्म संघर्ष गरिराख्ने बताए । उनले भने,”अझै जरूरी परे कठोर संघर्ष हुन्छ तपाईंहरू तयार नै रहनुहोला ।”

अदालतले ओलीले चालेका असंवैधानिक कदम सच्याउने भरोसा आफूहरूले गरेको प्रचण्डको भनाई छ । उनले भने “अदालतसँग सम्मान गर्ने हो केही गर्न मिल्दैन। अदालले असंवैधानिक र अलोकतान्त्रिक कदम सच्याउनेछ,अझै हामीलाई जनतामाथि भरोसा छ। जनताले सडकबाट पनि प्रतिगमन सच्याउन सक्छ।”



प्रतिक्रिया दिनुहोस !