२० आश्विन २०८१, आइतबार

पूर्वसभामुख महराको चेतावनी, ‘पुस १७ गते सुरु हुने राष्ट्रिय सभा बैठकमा ठूलो घटना हुन सक्छ’

प्रकाशित मिति :  29 December, 2020 10:31 pm


रोल्पा । पूर्वसभामुख कृष्णबहादुर महराले पुस १७ गते सुरु हुने राष्ट्रिय सभा बैठकमा ठूलो घटना हुने चेतावनी दिएका छन् ।

प्रतिनिधि सभा विघटन विरुद्ध रोल्पाको लिवाङमा भएको जनसभालाई सम्बोधन गर्दै पूर्वसभामुख महराले कुनै ठूलो राष्ट्रिय घटना हुन सक्ने चेतावनी दिएका हुन् । उनले भने,“१७ गतेको राष्ट्रिसभा बैठकमा केही हुँदैछ । के हुन्छ अहिले भन्न सकिँदैन । तर मेरो बिचारमा, मैले विश्लेषण गरेको हो पुरै कफिडेन्टका साथ त म भन्दैन तर कुनै ठूलो राष्ट्रिय घटना, राष्टघाती घटना हुन सक्छ र भयो भने संसद पुर्नगठन हुन्छ फेरि ।”

महराले के हुन्छ भन्नेबारे प्रष्ट नभनेपनि कुनै राष्ट्रघाती काम हुनसक्ने दाबी गरेका हुन् । उनले केपी ओली अर्कै बाटोमा लागेको समेत दाबी गरे । संविधान निर्माणका बेलाको घटना स्मरण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रमा सहमति हुँदा ओलीले आफूलाई चित्ता नबुझेको बताएको महराले सुनाए ।

ओलीले अहिलेको संविधान बदल्न खोजेको आरोप पूर्वसभामुख महराको थियो । प्रतिनिधि सभा विघटन आकस्मिक घटना नभएको महराले दाबी गरे । महराले ओली र पूर्वराजाबीच राजसंस्था पुर्नस्थापनाबारे कुनै सम्झौता भएको समेत आशंका व्यक्त गरे ।

नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुनले घोषित मिति बैशाखमा प्रधानमन्त्री केपी ओलीले चुनाव नगर्ने ठोकुवा गरे । प्रधानमन्त्री ओलीले छलछाम र षडयन्त्र गर्नका लागि मात्रै चुनाव घोषणा गरेको उनको दाबी थियो ।

प्रधानमन्त्रीको षडयन्त्रमा नपर्न विपक्षी दल काँग्रेस र राजपालगायतलाई समेत आव्हान गरे । ओली नेतृत्वको सरकार काम चलाउ भइसकेको भन्दै पुनले विचार गरेर काम गर्न आग्रह गरे । नेता पुनले भने, “संविधानमा प्रधानमन्त्री चयन गर्ने ४ ओटा विकल्प हुँदाहुँदै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक र विडम्बनापूर्ण छ ।

केन्द्रीय सदस्य जयपुरी घर्तीले प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको भन्दै आ आफ्नो ठाउँबाट संघर्ष गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, संसद विघटन असंवैधानिक छ । हामी जो जहाँ छौं त्यहीबाट डटेर संघर्ष गर्नुपर्छ ।”

 



प्रतिक्रिया दिनुहोस !