२० आश्विन २०८१, आइतबार

पछिल्लो राजनीतिक घटनाक्रमप्रति उपराष्ट्रपति पुनको असन्तुष्टि

प्रकाशित मिति :  30 December, 2020 11:40 am


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाएका छन् ।

तमू (गुरुङ) समुदायको  पर्व तमू ल्होछार/ल्होसारको अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति पुनले देशमा विकसित पछिल्ला राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्यता छाएको भन्दै यसलाई दुःखद भनेका छन् ।

उपराष्ट्रपति पुनले भनेका छन्, “नेपाली जनता सातदशक लामो संघर्षपछि प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालाई नयाँ संविधानले संस्थागत गरेपछि राजनीतिक स्थायित्व हासिल भएको र देश विकास, समृद्धिको मार्गमा दु्रत्तर गतिमा अगाडि बढ्नेमा पूर्ण विश्वस्त थिए । देशमा विकसित पछिल्ला दुःखद प्रकारको राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्यता छाएको छ । जनतामा नैराश्यता आउनु देशका लागि दुःखद    कुरा हो ।”

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्ण पालन र संरक्षण अनिवार्य भएको उपराष्ट्रपति पुनको भनाई छ ।

उनले भनेका छन्,“संविधानको मर्म र भावनाको सम्मान गर्दै त्यसको पूर्ण पालन, संरक्षण, राजनीतिक स्थायित्व र देश विकासका लागि जनतामा नयाँ आशा जगाउन सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्दछ । उपलब्धीको रक्षार्थ जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पुरा गर्नुपर्दछ ।”

तमू ल्होछार/ल्होसार २०७७ ले संविधानको पालन, राजनीतिक स्थायित्व र मुलुकको समृद्धिका लागि सबैलाई प्रेरणा देओस्, भन्दै उपराष्ट्रपति पुनले शुभकामना व्यक्त गरेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त धर्मनिरपेक्ष राष्ट्र भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले भनेका छन्, “अनेकौं संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर, सप्तरंगी सम्मिश्रण एवं साझा संगमको रुपमा रहीआएको नेपाल सामाजिक सद्भाव र सौहार्दताका लागि संसारभर सुपरिचित छ । नेपालका सबै समुदायका आ–आफ्नै मौलिक पहिचानसहितका भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवम् सांस्कृतिक चाडपर्व छन् । विभिन्न समुदायमा मौलिकताका साथ मनाइने चाडपर्वहरु नेपालीको साझा चाडपर्व हुन् ।”



प्रतिक्रिया दिनुहोस !