३ आश्विन २०८१, बिहिबार

जनताले प्रधानमन्त्री ओलीलाई बालुवाटारको झ्यालबाट फाल्ने छन् : नेता पुन

प्रकाशित मिति :  30 December, 2020 1:51 pm


रोल्पा । नेकपा प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य वर्षमान पुनले वैशाखमा चुनाव पनि नहुने र केपी शर्मा ओली प्रधानमन्त्री पनि नरहने दाबी गरेका    छन् ।

गृहजिल्ला रोल्पाको लिवाङमा प्रेस संगठन रोल्पाले आज गरेको पत्रकार भेटघाटमा नेता पुनले प्रधानमन्त्री ओलीको नियत नै चुनाव गराउने नभएको दाबी गरे । आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर संविधान र आफ्नै राजनीतिक जीवन धरापमा पारेको नेता पुनको भनाई थियो ।

इतिहासको दिशालाई उल्ट्याउन खोज्दा ओलीको राजनीतिक जीवन नै धरापमा परेको भन्दै निवर्तमान ऊर्जामन्त्री समेत रहेका पुनले अब वैशाखमा चुनाव पनि नहुने र ओली प्रधानमन्त्री नरहने दाबी गरेका हुन् । हिजो मात्रै प्रचण्डले वैशाखपछि ओली प्रधानमन्त्री नरहने दाबी गरिरहेका बेला अर्का नेता पुनको पनि मिल्दो धारणा सार्वजनिक भएको हो  ।

उनले जनप्रतिनिधिविहीन शासन चलाउने रहर र व्यक्तिगत इगो त्याग्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।उनले ओलीको ध्यान सैनिक सत्ता वा संकटकालमा गएको समेत दाबी गरे । उनले भने,”सैनिक सत्ता वा संकटकालको कुरा गरेर हामीलाई नधम्क्याए हुन्छ,वर्षौंसम्म राजाको सैनिक सत्ता, संकटकाल भोगेका र त्यसलाई परास्त गरेका नेपाली जनता तर्सनेवाला छैनन् ।”

नेता पुनले आफैंले मिचेको संविधानलाई ट्रयाकमा फर्काउन योगदान गरे ओलीलाई इतिहासले कहीँ न कहीँ सम्मान गर्ने नभए नभए जनताले बालुवाटारको झ्यालबाट फाल्ने चेतावनी दिए ।

नेता पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको समेत आलचेना गरे । राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेको नेता पुनको भनाई थियो । उनले भने “ कुनै पनि राय परामर्श नै नगरी प्रधानमन्त्रीको प्रतिगमनकारी कदमलाई नै बैधता दिएको, र काम चलाउन सरकार भनि कही कतै पनि उल्लेख नगरेकोले राष्ट्रपति नै संविधानको उलंघन गरेकी छन् । यो कदम सच्चिएन भने राष्ट्रपति नै देशको अभिभावक बन्न सक्ने छैनन् ।”

 



प्रतिक्रिया दिनुहोस !