३ आश्विन २०८१, बिहिबार

वर्तमान सङ्कटको निकास मध्यावधि निर्वाचनद्वारा हुन सक्दैन : नेकपा(क्रान्तिकारी माओवादी)

प्रकाशित मिति :  31 December, 2020 12:21 pm


फाइल फोटो

काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी)ले सङ्घीय जनगणतन्त्रको स्थापनाका लागि कार्यगत एकता तथा संयुक्त मोर्चा निर्माण गरेर संघर्षमा उत्रने निर्णय गरेको छ ।

पार्टीको स्थायी कमिटी बैठकको निर्णय आज सार्वजनिक गर्दै उक्त पार्टीले भनेको छ, “ हाम्रो पार्टी वर्तमान सङ्कटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधानका निम्ति सङ्घीय जनगणतन्त्रको स्थापनार्थ कार्यगत एकता तथा संयुक्त मोर्चा गरी सशक्त तथा प्रभावकारी ढङ्गले सङ्घर्षमा उत्रन सबै देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरुसित विशेष अनुरोध गर्दछ ।”

नेकपा क्रान्तिकारी माओवादीले संसद विघटनको कदमलाई आर्थिक, राजनीतिक तथा सांस्कृतिक रुपमा सङ्कटग्रस्त बन्दै गएको परिणाम भनेको छ ।

महासचिव मोहन बैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“ वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको द्योतक तथा परिणाम हो । साथै, यो गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताकै विरुद्ध परिलक्षित निरङ्कुशतावादी तथा फासीवादी कदम पनि हो ।”

यस प्रकारको सङ्कटको निकास मध्यावधि निर्वाचनद्वारा हुन नसक्ने उक्त पार्टीको ठहर छ । यस सङ्कटको वास्तविक निकास वर्तमान राज्यसत्ता तथा व्यवस्थाको अन्त्य, सङ्घीय जनगणतान्त्रिक व्यवस्था एवम् सरकारको स्थापना र वैज्ञानिक समाजवादद्वारा नै हुन सक्ने नेकपा क्रान्तिकारी माआवादीको दाबी छ ।

देशमा आन्तरिक तथा वाह्य रुपमा विभिन्न प्रतिक्रियावादी, साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुको चलखेल तीव्र रुपमा बढ्दै गएको भन्दै नेकपा क्रान्तिकारी माओवादीले देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षा, जनताका जनतान्त्रिक हक अधिकारको प्राप्ति र जनजीविकाको सुनिश्चितताको प्रश्नमा गंभीर खतरा उत्पन्न भएको उल्लेख गरेको छ ।

क्रान्तिकारी माओवादीले भनेको छ,“यस स्थितिमा हाम्रो पार्टी वर्तमान सङ्कटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधानका निम्ति सङ्घीय जनगणतन्त्रको स्थापनार्थ कार्यगत एकता तथा संयुक्त मोर्चा गरी सशक्त तथा प्रभावकारी ढङ्गले सङ्घर्षमा उत्रन सबै देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरुसित विशेष अनुरोध गर्दछ ।”



प्रतिक्रिया दिनुहोस !