३ आश्विन २०८१, बिहिबार

प्रदेश-१ का मुख्यमन्त्री राईद्धारा प्रचण्ड–नेपाल समूहका १५ जना प्रदेशसभा सदस्य निलम्बन

प्रकाशित मिति :  31 December, 2020 3:30 pm


काठमाडौं । प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले प्रचण्ड–नेपाल समूहका १५ जना प्रदेशसभा सदस्यलाई निलम्बन गरेका छन् ।

उनले १५ सांसदलाई तीन महिनाका लागि निलम्बन गरी अनुशासनको कारबाही गरेका हुन् । प्रदेशसभा सदस्यलाई निलम्बन गरेको बोधार्थ पत्र प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा सचिवालयमा बुझाएका छन्। मुख्य मन्त्री राई नेकपा केपी ओली समूहका नेता हुन् ।

उनलाई आज मात्रै प्रचण्ड नेपाल पक्षले संसदीय दलको नेताबाट हटाएर भिम आचार्यलाई नयाँ संसदीय दलको नेतामा चयन गरेको थियो । त्यस लगत्तै राइले १५ सांसदलाई निलम्बन गरेका हुन् । प्रदेश सभा सचिवालयमा बुझाईएको पत्रमा संसदीय दलको सदस्य भएको अवस्थामा दलका नेतालाई नसोधी र कुनै जानकारी नगराई प्रदेशसभा समक्ष अविश्वासको प्रस्तावमा सही गरेको र अनुशासनको पालना नगरेकाले सोधिएको स्पष्टिकरणको जवाफसमेत नदिएको भनिएको छ ।

राईले प्रचण्ड नेपाल समूहका संसदीय दलका नेता आचार्यसँगै ईन्द्र आङ्बो, जीवन घिमिरे, विजयकुमार विश्वास, सावित्राकुमार रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई, यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठलाई निलम्बन गरेका हुन् ।

सोही कारणले अगामी तीन महिनासम्म दलको कुनैपनि क्रियाकलापमा भाग लिनबाट वञ्चित गरिएको उल्लेख छ । साथै संसदीय दलको सदस्यता निलम्बन गरिएको पत्रमा उल्लेख छ । नेकपा विभाजपछि प्रदेशमा एउटा समूहले अर्को समूहलाई हटाउने र कारबाही गर्ने प्रकृया चलिरहेको छ ।

प्रचण्ड-नेपाल समूहले राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ भने मन्त्रीहरुले समेत राजिनामा दिइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !