४ आश्विन २०८१, शुक्रबार

विद्युत प्राधिकरणले भन्यो,‘लोडसेडिङ भएको छैन र भविष्यमा पनि हुने छैन’

प्रकाशित मिति :  31 December, 2020 4:57 pm


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ नभएको र भविष्यमा पनि नहुने बताएको छ । पछिल्ला केही दिनमा बत्ती अनियमित हुन थालेपछि अघोषित लोडसेडिङ शुरु भएको आशंका गरिएको थियो ।

प्राधिकरणका प्रवक्ता मदन तिम्सीनाले विज्ञप्ति जारी गर्दै भनेका छन्, “नेविप्राले विगत ३ वर्षअघिदेखि नै लोडसेडिङ अन्त्य गरिसकेको, फेरी लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको र देहायको अवस्थामा छोटो समयलाई विद्युत आपूर्तिमा अवरोध हुन गएको व्यहोरा आम विद्युत उपभोक्ता, मिडियाकर्मी,पत्रकार रत सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।”

उनले भनेका छन्,”प्राधिकरणले विद्युतका उपभोक्ताहरुको माग भन्दा आपूर्ति कम भएको अवस्थामा मात्र लोडसेडिङ गर्नुपर्ने बाध्यता रहन्छ । हाल नेपालको विद्युत प्रणालीमा प्राधिकरणको आन्तरिक उत्पादन,निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी विद्युत माग बराबर नै आपुर्ति गरिराखेको कारणले लोडसेडिङ छैन ।”

राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमताभन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रशारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिङ नभएको प्राधिकरणको भनाई छ । अवरोध न्यूनिकरण र निराकरण गर्न प्राधिकरण सक्षम रहेको र सदैव प्रयासरत रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्राधिकरणले पुस १३ र १४ गते राष्ट्रिय विद्युत प्रणालीमा केही समय आएको अवरोध सो प्रणालीमा आएको प्राविधिक समस्या भएको जनाएको छ । उक्त समस्या समाधान भइसकेको प्रवक्ता तिम्सीनाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्राधिकरणले भनेको छ,“ विश्वव्यापी फैलिएको कोरोना भाइरस संक्रमणको महामारीको समयमा पनि विद्युतका समस्त उपभोक्ता वर्गमा गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउन नेविप्राका कर्मचारीहरु अहोरात्र खटिई सेवारत रहेको हुँदा कुनैपनि प्रकारको लोडसेडिङ नहुने व्यहोरा समेत आश्वस्त तुल्याउँछौं ।”



प्रतिक्रिया दिनुहोस !