३ आश्विन २०८१, बिहिबार

अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन हुने कार्यक्रम बनाउन कृषि मन्त्री अर्यालको निर्देशन

प्रकाशित मिति :  31 December, 2020 5:15 pm


तस्बीर: देविका घर्ती मगर

काठमाडौं ।  कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन हुने  कार्यक्रम बनाउन कर्मचारीहरुलाई निर्देशन दिएकी छन् ।

मन्त्रालयको कार्यभार सम्हालेसँगै मातहतका निकायहरुको ब्रिफिङ लिने क्रममा आज मन्त्री अर्यालले कृषि विभाग र पशुसेवा विभागमा पुगेकी हुन् ।
पुल्चोकस्थित विभागहरुको अनुगमन, निरिक्षण गर्दै मन्त्री अर्यालले विभागले हालसम्म सञ्चालन, सम्पन्न तथा शुचारु गर्दै आएका कार्यक्रमहरुका बारेमा जानकारी लिएकी थिइन् ।

कृषि विभागको ब्रिफिङ कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्री अर्यालले रासायनिक मलको प्रयोग पूर्णरुपमा बन्द गर्नसक्ने अवस्था अहिले नै नभएपनि यसलाई बिस्तारै कम गर्दै लैजानुपर्ने बताइन् । त्यसका निम्ती आवश्यक कार्यक्रम र कार्ययोजना बनाउन समेत मन्त्री अर्यालले कर्मचारीहरुलाई निर्देशन दिइन् । “अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ । रासायनिक मलको प्रयोग अहिले भर्खरै बन्द गर्ने अवस्था छैन”, मन्त्री अर्यालले भनिन्, “तर अब प्राङ्गारिक मलमा जोड दिउँ । रासायनिक मलको प्रयोगमा न्यूनीकरण गर्न प्राङ्गारिक मलको उत्पादन र प्रयोग बृद्धि गर्दै लैजाउ ।”

चक्लाबन्दी खेती प्रणाली कार्यक्रम जनस्तरबाट शुरु हुनुपर्ने भन्दै उनले तलबाट नै किसानलाई प्रेरित गर्नेगरी कार्यक्रम बनाउनुपर्ने बताइन् । कृषकले कृषि कर्म गर्नका निम्ती मल, बिउ, बेर्ना पाउन सकेनन् भन्ने समस्याको अन्त्य गर्नेगरी लाग्न समेत उनले कर्मचारीलाई निर्देशन दिइन् ।

मन्त्रालयले वितरण गर्दै आएको अनुदान कार्यक्रमको अवस्थाका बारेमा समेत लेखाजोखा गर्न निर्देशन दिँदै उनले अनुदान कार्यक्रमको प्रभावकारी अनुगमन कार्य अगाडी बढाउन निर्देशन दिइन् । ‘हाम्रा अनुदानले कति प्रतिफल प्राप्त भएको ? त्यसको लेखाजोखा गर्नुस्’, मन्त्री अर्यालले भनिन्, “अनुदानका कार्यक्रमलाई पुर्नविचार गरौं । यही तरिकाले अनुदान प्रभावकारी हुन सक्दैन ।”

निर्वाहमूखी कृषि प्रणालीको अन्त्य गरेर व्यवसायिक कृषि प्रणालीमा जोड दिनुपर्ने बताउदै मन्त्री अर्यालले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्न व्यवसायिक कृषि प्रणालीमा जोड दिनैपर्ने बताइन् ।

यसैबीच पशुसेवा विभागको ब्रिफिङ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले मासु, दुध र माछामा आत्मनिर्भर भयौं भन्ने ढंगले तयारी अगाडी बढाउन कर्मचारीहरुलाई निर्देशन दिइन् । बजारमा देखिएको बोयर बाख्राको मागको पूर्ति गर्नेगरी काम गर्न समेत निर्देशन दिइन् । पशुपंक्षीका क्षेत्रका सूचना प्रणालीलाई व्यवस्थित गर्न आग्रह गर्दै मन्त्री अर्यालले प्रत्येक दिनको सूचना अपडेट हुनेगरी सूचना प्रणाली विकास गर्न कर्मचारीलाई निर्देशन दिइन् ।

कोभिड–१९ संक्रमणका कारण मुलुक लकडाउनको स्थितीमा रहेका बेला किसानहरुको दूध बिक्रि नभएर सडकमा पोख्ने अवस्थाको स्मरण गर्दै उनले दूध बिक्रि नहुँदा पनि त्यसबाट उत्पादित हुने परिकारहरु बनाउने सीप तथा औजारहरु किसानलाई प्रदान गर्नुपर्ने मन्त्री अर्यालको भनाई थियो ।

कार्यक्रममा बोल्दै कृषि सचिव डा.योगेन्द्रकुमार कार्कीले मन्त्रालयको बित्तिय प्रगती बढाउने लक्ष्य रहेको भन्दै त्यहीअनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिए । न्त्रालयले सञ्चालन गर्ने कार्यक्रम संशोधन गर्नुपर्ने आवश्यकता भएमा संशोधन गरेर भएपनि काम देखिनेगरी अगाडी बढ्नुपर्ने उनको भनाई थियो ।

पशुपंक्षी सचिव डा.प्रेमनारायण कँडेलले मन्त्रालयको लक्ष्य र कार्यसम्पादनको तालमेल मिल्नुपर्ने भन्दै एक महिनाभित्र विशेष योजना बनाएर पेश गरिने बताए । केही आन्तरिक व्यवस्थापन गर्न आवश्यक भएको भन्दै उहाँले पशु स्वास्थ्य र मानव स्वास्थ्यको सम्बन्ध प्रत्यक्ष जोडिएकाले पशु स्वास्थ्यलाई बढी जोड दिएर हेर्नुपर्ने   बताए ।



प्रतिक्रिया दिनुहोस !