३ आश्विन २०८१, बिहिबार

गणतन्त्रको रक्षा र व्यवहारिक रुपमा सवलीकरणको बाटोमा अघि बढीरहेका छौं : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  1 January, 2021 8:30 am


फाइल फोटो

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको रक्षा र व्यवहारिक रुपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयनको बाटोबाट आफूहरु अगाडि बढीरहेको बताएका छन् ।

नयाँ वर्ष २०२१ शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्,“आगामी दिनमा हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यवहारिक रूपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामहरूलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्दै छौं ।”

मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएको भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय समृद्धि तर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाईमा पुग्ने उल्लेख गरेका छन् । उनले भनेका छन्,“ अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि हामीले बसालेको जग अझ देखिनेगरी थप उचाईमा पुग्नेछ । राष्ट्रको अवस्था समृद्ध र जनताको जीवन सुखी बनाउने हाम्रो अभियान सार्थक बिन्दुको अझ नजिक पुग्नेछ ।”

आगामी वर्ष र दिनहरूमा हाम्रो राष्ट्रियता अझ मजबूत हुने भन्दै प्रधानमन्त्री ओलीले मुलुकको स्वाधीनताको अझ बढी व्यवहारिक र वास्ताविक अर्थमा प्रयोग गर्दै अघि बढ्ने उल्लेख गरेका छन् । उनले आफ्नो शुभकामना सन्देशमा भनेका छन्,“छौं । भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूको रक्षा एवं राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने छौं । राष्ट्रिय समृद्धिका यी पाइलाहरूलाई उचाईमा पुर्‍याउने सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी तथा दाजुभाइहरूको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु ।”

पाँच वर्ष अघिको विनाशकारी भूकम्पबाट ध्वस्त भएका संरचनाहरूको पुनःनिर्माणलाई एकाध बाहेक निश्कर्षमा पु¥याउने सफलता प्राप्त गरेको भन्दै प्रधानमन्त्री ओलीले व्यवसायका लागि सुरक्षित राष्ट्रका रूपमा नेपालको स्थान केही माथि पुगेको र आयात कटौती तथा निर्यातमा केही बृद्धि गरी हामी सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएको दाबी गरेका छन् ।

उनले आपसमा निराशा बाँडेर बस्ने हाम्रो समाजिक प्रवृत्ति सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित हुन थालेको दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !