संस्कृतिको बसाइँसराइ र पुस्तान्तरणको अभाव
-डा. मतिप्रसाद ढकाल
उठान :
नेपाल विविध संस्कृति र धर्मसम्प्रदायले भरिपूर्ण भएको देश भएकाले नेपालीहरूमा विविधता भेटिनु अस्वाभाविक होइन । सूचना र प्रविधिको द्रुततर विकास, गाउँबाट सहरतिरको बढ्दो आकर्षण र विदेशतिरको मोह बढ्दै जाने क्रममा नेपालको सांस्कृतिक विविधता पनि क्रमशः क्षीण हुँदै जान थालेकामा यसततर्फ चिन्ता र चासो प्रकट गर्न चाहने नेपालीहरूको सङ्ख्या अत्यन्त कम देखिएको छ ।
बसाइँसराइ गर्नु कतिपय नेपालीको बाध्यता होला तर धेरैजसो नेपालीहरू रहरले बसाइँसराइ गर्न रुचाउँछन् । रहरले वा करले बसाइँसराइ गर्नेहरूमा आआफ्नो संस्कृतिलाई संरक्षण र संवद्र्धन गर्ने चिन्ता हुँदै नभएको त होइन तर कतिपय परिस्थितिले र व्यक्ति स्वयंको नीच मार्ने प्रवृत्तिले गर्दा स्वसंस्कृतिको समुचित संरक्षण र संवद्र्धन गर्न सकिएको छैन ।
संस्कृतिको पुस्तान्तरणको अभाव :
वर्तमान समयमा सगोल परिवारमा बस्न रुचाउने पुस्ताहरू लोप हुँदै गएका छन् भने एकल परिवारमा रमाउन चाहने पुस्ताहरू बढ्दै गएका छन् । एकल परिवारमा पनि कतिपय परिवारका लोग्ने वा श्रीमती वैदेशिक रोजगारका सिलसिलामा लामो समयदेखि विदेशमै रहने गरेका कारण संस्कृतिको समुचित रूपमा पुस्तान्तरण हुन सकेको छैन ।
आफू जन्मेहुर्केका ठाउँमा प्रचलित आआफ्नो संस्कृतिसँग आंशिक रूपमा पनि परिचित हुन नपाउँदै वा चासो नराख्तै आफ्नो परिवारका ज्येष्ठ सदस्यको स्वर्गारोहण हुनाले संस्कृतिबारे चासो राख्ने कतिपय परिवारका व्यक्तिहरू पश्चात्तापको अनुभूति गर्न बाध्य छन् ।
आफ्नो अभिभावकका रूपमा रहेका हजुरबुबा, हजुरआमा वा आमाबुवाको पुस्ता जीवित रहँदै उनीहरूले गर्ने सांस्कृतिक प्रचलनबारे विशेष ध्यान दिन नसक्ता वा अभिभावक स्वयंले आफ्नो उत्तरवर्ती पुस्तालाई आफ्नो संस्कृतिका विषयमा चासो राख्न वा परिचित हुन प्रेरित नगर्दा उत्तरवर्ती पुस्ता ‘श्राद्धमा बिरालो बाँध्ने’ कुसंस्कृतिको अनुसरण गर्न पनि बाध्य हुनुपरेको छ ।
आफ्ना अभिभावकहरू जीवत रहँदै श्राद्धमा किन बिरालो बाँधिएको रहेछ भनेर थाहा पाउन सकेको भए अभिभावकको देहावसान भएपछि श्राद्धमा बिरालो बाँध्नैपर्दो रहेछ भनेर आफ्ना घरमा बिरालो नभए पनि गाउँघरमा बिरालो खोजेर श्राद्ध गर्ने कुसंस्कृति उत्तरवर्ती पुस्तामा मौलाउने थिएन । त्यसैले आजका प्रत्येक अभिभावकले आआफ्ना सन्तानलाई आआफ्ना परम्परागत संस्कृतिका विषयमा प्रशिक्षित गर्दै जानु आवश्यक छ ।
गाउँबाट सहरमा संस्कृतिको बसाइँसराइ :
हाम्रा अधिकांश गाउँहरू हालसम्म पनि सुविधासम्पन्न छैनन् जसका कारण गाउँमा सदैव धेरैजसो आवश्यकताको अभाव नै खड्किइरहन्छ । धेरैजसो व्यक्तिहरू आफ्ना सन्ततिको भविष्य उज्ज्वल हुन सकोस् भन्ने अपेक्षा राखेर गाउँबाट अस्थायी वा स्थायी रूपमा नै सहरमा बसाइँ सर्छन् । सहरमा डेरा लिएर बस्नेहरू त वर्षको एकदुईपटक अवश्य पनि आफ्नो गाउँ जाने गर्छन् तर जसले गाउँलाई चटक्कै छाडेर सहरमा स्थायी रूपमै घर बनाएर गाउँबाट बसाइ सर्छन् उनीहरूले सहरबाट गाउँतिर फर्किएर केही दिन बिताउने चाहना राख्तैनन् भने सहरमा बस्तै गर्दा आफ्ना गाउँमा प्रचलित संस्कृति क्रमशः परित्याग गर्दै पाश्चात्य संस्कृति मौलाउँदै गरेको सहरिया संस्कृति अँगाल्न पुग्छन् ।
गाउँबाट सहरमा बसाइँ सर्ने क्रममा एउटै गाउँका जुन जुन परिवार एउटै सहरमा छिमेकी नै बनेर बस्ने गरेका छन् तिनीहरूका तुलनामा सहरमा जो जो आफ्ना गाउँको कुनै पूर्वपरिचित व्यक्ति नभेटिने ठाउँमा एक्लै बस्छन् उनीहरूले अँगाल्ने संस्कृतिमा बाह्य प्रभाव पर्न सक्ने प्रबल सम्भावना रहन्छ । तसर्थ सकेसम्म आफ्नै गाउँलाई सुविधासम्पन्न बनाउन प्रयास गर्न र त्यस्तो सम्भावना रहेन भने सहरमा बसाइ सर्न इच्छुक एउटै गाउँका व्यक्तिहरू मिलेर सहरमा नजिक नजिक बस्ने प्रयास गरी गाउँबाट सहरमा बसाइँसराइ गर्नेहरूमा पनि आफ्नो संस्कृतिले बसाइँ सर्ने अवसर पाउँदैन ।
पहाडबाट तराईमा संस्कृतिको बसाइँसराइ :
पछिल्लो जनगणनाअनुसार नेपालमा तराई र हिमाली भेगमा भन्दा पहाडी भेगमा बसोबास गर्ने परिवारहरूको सङ्ख्या बढी छ । पहाडमा सुखसुविधाको अभाव देखेर नै धेरैजसो परिवारहरू पहाडबाट तराईमा बसाइँ सर्ने गर्छन् । पहाडी गाउँको कुनै एउटा व्यक्ति तराईतिर बसाइँ सर्यो भने त्यसकै देखासिकी गरेर गाउँका अन्य व्यक्तिहरू पनि तराईतिर बसाइँ सर्दै जान्छन् । पहिला पहिला पहाडबाट तराईतिर बसाइँ सर्ने काम राम्रो मानिँदैनथ्यो ।
त्यसैले ‘पहाडका बापति तराईका सभापति’ भन्ने उखान चलेको रहेछ । अहिले पहाडबाट तराईतिर बसाइँ सर्नुलाई सुखको यात्रा ठानिन्छ । पहाडको सारा सम्पत्ति रित्याएर तराईमा एउटा घडेरी किन्न सक्नु र जीवनभरको कमाइले एउटा घर बनाउन सक्नुमा नै जीवनको सफलता ठान्नेहरू बढ्न थालेका छन् । पहाडबाट तराई बसाइँ सरेपछि सबैले आआफ्नो संस्कृतिलाई पनि बसाइँ सार्न त चाहन्छन् तर तराईमा विभिन्न जिल्लाका व्यक्तिहरूको बसोवास हुने भएकाले पहाडमा सबैले अँगाल्दै आएको संस्कृति पूर्णतः बसाइँ सर्न भने सक्तैन ।
जसका कारण आफ्नो मौलिक संस्कृति अन्य छिमेकीकै संस्कृतिसँग मिसावट हुने भएकाले तराईको संस्कृति खिचडीजस्तै हुन पुग्छ र सबैले आफ्नै पुर्खाहरूले अँगाल्दै आएको मौलिक संस्कृतिलाई पूर्णतः निरन्तरता दिन सक्तैनन् । हुन त पहाडका गाउँघरमा पनि सांस्कृतिक विचलन बढ्न थालेको छ तर तराईका तुलनामा पहाडमा केही मात्रामा भए पनि मौलिक संस्कृति जोगाउने व्यक्तिहरू अझसम्म भेटन सकिन्छ ।
पहाडबाट तराईमा बसोवास गरेका कतिपय जागरूक व्यक्तिहरूले सम्बद्ध जिल्लाको सम्पर्क समाज गठन गरेर आआफ्ना संस्कृतिको संरक्षण र संवद्र्धन गर्न प्रयास पनि गर्दै आएका छन् तर नवपुस्तालाई यथोचित रूपमा आआफ्नो संस्कृतिप्रति जागरूक बनाउन भने सकिएको देखिँदैन । नवपुस्ताका सदस्यहरूलाई नै संस्कृतिप्रति जागरूक बनाएर उनीहरूलाई नै संस्कृति संरक्षणको अभियन्ताका रूपमा अग्रसर गराउन सकिएका खण्डमा पहाडबाट तराईमा बसोवास गर्दैमा आफ्नो संस्कृतिमा विकल्प आउन थाल्यो भनेर चिन्तित हुनुपर्ने थिएन ।
स्वदेशबाट विदेशमा संस्कृतिको बसाइँसराइ :
वर्तमान युवा पुस्तामा पढाइका बहाना पारेर विदेश जाने मोह अत्यधिक मात्रामा बढ्दै गएको छ । त्यसरी स्वदेशबाट विदेश जाने युवाहरू स्वदेशमा रहँदा आआफ्नो संस्कृतिप्रति परिचित भइसकेका हुँदैनन् तापनि विदेश पुगेपछि भने उनीहरूले आफ्नो संस्कृतिप्रति चासो राख्न भने थाल्छन् तर जतिसुकै चासो राखे पनि आफ्नै अभिभावक वा अग्रजबाट प्रत्यक्ष रूपमा आफ्नो संस्कृतिप्रति प्रशिक्षित हुने अवसरबाट भने उनीहरू वञ्चित नै रहन्छन् ।
विदेश पुगेर उतै घरजम गर्न पुगेको युवा पुस्ता त आआफ्नो संस्कृतिको मर्म बुझ्न प्रयत्नशील रहला तर उनीहरूका अधिकांश सन्ततिहरू भने आफ्नो पुख्र्यौली संस्कृतिबाट सामान्य रूपमा पनि परिचित हुन सक्तैनन् । यसरी स्वदेशबाट विदेशमा बसाइँसराइ गर्ने नेपालीहरूको उत्तरवर्ती पुस्ता आफ्नो पुख्र्यौली संस्कृतिबाट विमुख हुँदै जानुपर्ने बाध्यताले गर्दा सम्बद्ध पुस्ता आफ्नो पुख्र्यौली संस्कृति अँगाल्न सक्तैन र पुख्र्यौली संस्कृतिको नै क्रमशः लोप हुँदै जाने समस्या निम्तिन्छ ।
तसर्थ स्वदेशबाट विदेशमा पुगेको पुस्ताले आफ्नो उत्तरवर्ती पुस्तालाई स्वसंस्कृतिको हस्तान्तरण गर्नका लागि विभिन्न क्लब वा समूह बनाएर स्वसंस्कृतिका बारेमा प्रशिक्षित गर्दै जानु आवश्यक छ ।
बैठान :
सुख र सुविधाको खोजीमा मात्रै होइन आफ्नो उत्तरवर्ती पुस्ताको व्यक्तित्व विकासका लागि पनि मान्छेहरू बसाइँ सर्ने गर्छन् । पानी जसरी नबगीकन एकै ठाउँमा रहँदा प्रदूषित हुन्छ त्यसैगरी जुनसुकै व्यक्ति पनि जीवनभर एउटै ठाउँमा बसिरहँदा उसको समयोचित रूपमा व्यक्तित्व विकास हुन पाउँदैन । त्यसैले हाम्रो उपनिषद्ले ‘चरैवेति चरैवेति’ अर्थात् हिँडिराख हिँडिराख भनेर हामीलाई अघि बढिरहन निर्देश गरेको हो तर अगाडि बढ्दैमा वा बसाइँ सर्दैमा आफ्नो संस्कृतिको अवलम्बन गर्न क्रमशः छाडिदिनुपर्छ भन्ने मान्यता भने अँगाल्न हुँदैन ।
अग्रज पुस्ताबाट आफ्नो पुस्तामा संस्कृतिको हस्तान्तरण नभएको भए त्यसका लागि आपूm प्रयत्नशील भइरहनुपर्छ । त्यसैगरी पहाडबाट सहरमा वा स्वदेशबाट विदेशमा बसाइँसराइ गर्दा पनि आफूलाई र आफ्नो उत्तरवर्ती पुस्तालाई सदैव स्वसंस्कृतिप्रति जागरूक बनाइरहनुपर्छ । सबै नेपाली स्वसंस्कृतिप्रति जागरूक भइरहन सक्यौँ भने स्वसंस्कृतिको विचलनलाई क्रमशः निराकरण गर्दै जान सकिनेछ ।
लेखक ढकाल, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन् ।