३ आश्विन २०८१, बिहिबार

प्रचण्ड-नेपाल समूहद्धारा आन्दोलन घोषणा:पढ्नका लागि प्रधानमन्त्रीलाई संविधान पठाउने,घरघरमा पर्चा वितरण

प्रकाशित मिति :  2 January, 2021 5:10 pm


काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पहिलो चरणको आन्दोलन गरिसकेको प्रचण्ड-माधव समूहले आज आन्दोलन घोषणा गरेको हो । प्रचण्ड माधव समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले पत्रकार सम्मेलन गरेर आन्दोलनबारे जानकारी गराएका छन् । प्रचण्ड नेपाल समूहले पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यक्रम अन्तर्गत प्रधानमन्त्रीलाई संविधानको पुस्तक दिनेदेखि सबै तहमा प्रदर्शन गर्नेसम्म रहेको छ । उक्त समूहले २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने संयोजक श्रेष्ठले जानकारी दिए ।

पुस २० गतसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम राखिएको छ भने पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन हुने छ ।

पुस २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया, २३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया,२४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने कार्यक्रम तय गरिएको श्रेष्ठले जानकारी दिए ।

२६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम राखेको प्रचण्ड-नेपाल समूहले २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला तय गरेको छ ।

२८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने ,२९ पुसमा निर्वाचन क्षेत्रस्तरीय कार्यकर्ता भेला,३० पुसमा सबै वडामा विरोध प्रदर्शन र सभा,५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा कार्यक्रम राखिएको संयोजक श्रेष्ठले जानकारी दिए ।

१० माघमा राजधानी लगायतका सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्‍याली,१६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा,२२ माघमा वडा तहमा मसाल जुलुस ,२३ माघमा राजधानीमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको संयोजक श्रेष्ठले जानकारी दिए । पुस ५ गते सरकारले संसद विघटन गरेपछि नेकपा विभाजित भएको छ ।

एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड-नेपालले गरेका छन् । अहिले दुबै पक्षले कार्यकर्ता भेला छलफल अन्तरकृयालाई तिब्र परेको छ । प्रचण्ड-नेपाल समूह भने आन्दोलनमा छ ।



प्रतिक्रिया दिनुहोस !