३ आश्विन २०८१, बिहिबार

ओलीको टिप्पणी,‘प्रचण्ड र नेपाल समूह भेट्नु कुहिएर झरेका फल’

प्रकाशित मिति :  2 January, 2021 5:30 pm


काठमाडौं । प्रधानमन्त्री एवं नेकपाको एउटा समूहको नेतृत्व गरिरहेका केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिएका छन् ।

काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले भने, “समस्या कहाँ रहेछ ? खिया कहाँ लागेको रहेछ ? दुइटा नटबोल्ट फेर्दा गाडी अगाडि । हामीले फेरेको पनि होइन, आफैं फुक्लिए नटबोल्ट,खिया लागेको दुइटा नटबोल्ट के खुस्किएको थियो, पार्टी गतिका साथ अगाडि गयो ।”

प्रधानमन्त्री समेत रहेका ओलीले अर्का समूहले असली हामी हौं भनेर निवेदन हालेको भनेर निर्वाचन आयोगबाट शुक्रबार एउटा पत्र प्राप्त भएको बताए । अघि भने, “असली र नक्कली भन्न यो बरमझियाको बुढाको पेडा पसल हो ?”

प्रधानमन्त्री ओलीले आफूहरु नै आधिकारिक भएको दाबी गर्दै उनले अहिले पनि प्रचण्डलाई अध्यक्ष, माधवकुमार नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेतामा राखेको उल्लेख गरे । उनको टिप्पणी थियो ,”अरु पनि केही साथीहरु बैठकमा आउनु भएको छैन । कारणहरु होला, आउन होला । हामी सम्झाउन खोजिरहेका छौं ।”

ओलीले प्रचण्ड-माधव समूहले घोषणा गरेको आन्दोलनप्रति टिप्पणी गर्दै उनले भने,”अलिअलि मान्छे त सिसीमा औषधि बेच्नेले पनि रत्नपार्कमा जम्मा गर्छ,उहाँहरुको हालत त्यो भन्दा बढ्ता हुने बाला छैन । किनकी उहाँहरुको एजेण्डा जनता होइन, संविधानको रक्षा होइन ।”

उनले सूर्य चुनाव चिन्हमा कसैले दावी गर्न नमिल्ने बताए । उनले भने,”ढुक्क हुनुहोस् सूर्य चिन्ह हाम्रो हो ।” उनले कम्युनिष्ट आन्दोलनलाई तलमाथि हुन नदिने भन्दै उचाइमा लगिछाड्ने उद्घोष समेत गरे ।

ओलीले निर्वाचन आयोगमा प्रचण्ड–नेपाल पक्षले दिएको निवेदन औचित्यहीन रहेको तर्क समेत गरे । केपी ओलीलाई पार्टीबाट निकाल्यौँ भनेर निर्वाचनका पदाधिकारीलाई हँसाउने काम सो पक्षबाट भएको उनको भनाइ छ ।

उनले प्रचण्ड र नेपाल पक्षका नेतालाई इंगित गर्दै ‘मान्छे हेर्दा ठूलै देखिए पनि सरकारको काम हेर्ने कुरामा चित्त साना’ भएको बताए । अर्को प्रसंगमा ओलीले लोकतन्त्र, संविधान, स्थायित्वमाथि खतरा भएर नै संसद विघटन गर्नुपरेको तर्क गरे । अब संसद पुनर्स्थापित नहुने पनि उनको प्रष्टोक्ति थियो ।



प्रतिक्रिया दिनुहोस !