५ आश्विन २०८१, शनिबार

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको दुई जना १,४७,८६,००० रुपैयाँसहित पक्राउ

प्रकाशित मिति :  4 January, 2021 4:42 pm


काठमाडौं ।  

नेपाल प्रहरीले स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नं को हुण्डाई कारमा जाँचका क्रममा उक्त रकमसहित आज बिहान दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्तुका २२ वर्षीय कार चालक सङ्गम थारु रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले कारको डिक्कीमुनी विभिन्न भागमा तीनवटा झोलामा लुकाएर ल्याएको उक्त रकमसहित दुईजनालाई पक्राउ गरिएको जानकारी दिए ।

“उक्त रकम भारतबाट भारतीय रुपैँया ल्याई नेपालको सीमा क्षेत्रमा पटकपटक सटही गरेको अनुसन्धानबाट खुलेको छ”, प्रवक्ता विष्टले भने । उक्त घटनामा प्रयोग भएको सवारी साधन र बरामद गरिएको रकमसहित आवश्यक अनुसन्धान तथा कारवाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग पठाइएको प्रहरीले   जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !