२१ आश्विन २०८१, सोमबार

प्रचण्ड–माधव समूहले प्रदेश-२ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटायो

प्रकाशित मिति :  5 January, 2021 4:49 pm


धनुषा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले प्रदेश २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ ।

ओली समूहमा रहेका मण्डललाई हटाएर शत्रुधन महतोलाई संसदीय दलको नेता बनाइएको छ । यसअघि मण्डलबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो समूहको आज बसेको संसदीय दलको बैठकले अविश्वासको प्रस्ताव पारित गर्दै मण्डललाई संसदीय दलबाट हटाएको हो ।

नयाँ नेता चयनका लागि प्रचण्ड-नेपाल समूहले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो तर आज दिउँसो २ बजेसम्म मनोनयन दर्ता र २ः४५ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएकोमा महतोको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध दलको नेतामा चयन भएका छन् ।

यसअघि प्रचण्ड नेपाल समूहले ओली समूहमा रहेका बागमती प्रदेश, प्रदेश-१ मा पनि संसदीय दलको नेता हटाएर आफू पक्षीय नेता चयन गरेको थियो । पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपा विभाजन तिब्र रुपमा अगाडि बढीरहेको छ ।

पार्टीको आधिकारिकताबारेको विवाद निर्वाचन अयोगमा पुगेको छ भने प्रतिनिधि सभा विघटनविरुद्धको रिट सर्वोच्च अदालतमा विचाराधिन छ । पार्टी विभाजनको औपचारिक आधिकारिकता र निर्णय नभएपनि दुबै समूहले आफ्ना गतिविधिलाई तिब्र पारेको छ ।



प्रतिक्रिया दिनुहोस !