२१ आश्विन २०८१, सोमबार

पूर्वसभामुख नेम्वाङ नैतिक संकटमा, प्रधानमन्त्रीको अधिकारबारे दिएको भाषणका कारण ‘भाइरल’

प्रकाशित मिति :  6 January, 2021 1:31 pm


 

काठमाडौं । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ भाइरल भएका छन् । प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओलीलाई साथ दिइरहेका नेम्वाङले केही समय पहिले प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने भन्दै राखेको भाषण एकाएक सामाजिक सञ्जालमा आएपछि उनी दाबावमा परेका छन् ।

नेम्वाङले दुईवटै संविधान सभाको नेतृत्व गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यही पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपा विभाजन भएको छ भने यससम्बन्धि मुद्धा विचाराधिन छ । नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको कानुनविद्हरुले दाबी गर्दै आइरहेका छन् । नेम्वाङ स्वयं वरिष्ठ अधिवक्ता समेत हुन् ।

गत वर्ष संघीय संसद सचिवालय र यूएनडीपीले २०७६ साउन ४ गते काभ्रेको धुलिखेलमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा नेम्वाङले प्रतिनिधि सभा पाँचै वर्ष चल्ने बताएका थिए।

उनले उक्त कार्यक्रममा भनेका छन्,”अहिले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न सक्तैनन्। संविधानमा हामीले त्यो व्यवस्था नै राखेनौं। हामीले अलिकति अगाडि भएमा बाहेक संविधान बजेटजस्तै यो दिनमा निर्वाचन गर्ने भने राख्न खोजेका थियौं। तर, त्यही दिन भनेर राख्दा एक दिन पनि तलमाथि पर्‍यो भने संवैधानिक अप्ठ्यारो आउँछ भनेर त्यसो गरेनौं, त्यसैले अहिलेको संवैधानिक व्यवस्था भनेको आवधिक निर्वाचन हो, १५ दिन २० दिन अगाडि पछाडि होला तर आवधिक निर्वाचन ठ्याक्कै पाँच वर्षमा हुन्छ। त्यसलाई हामीले संविधानमा लेखेका छौं।”

उक्त भिडियो बाहिर आएपछि नेम्वाङ नैतिक संकटमा परेका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन संविधान बामोजिम भरिहेका बेला उनका एक सारथी आफ्नै बोलीका कारण नैतिक संकटमा फसेका हुन् ।



प्रतिक्रिया दिनुहोस !