७ कार्तिक २०८१, बुधबार

प्रचण्ड-नेपाल समूह निकट विद्यार्थीद्धारा दिउँसै लालटिन बालेर सरकारको विरोध

प्रकाशित मिति :  6 January, 2021 2:14 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूले आज लालटिन बालेर विरोध प्रर्दशन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा आज लालटिन बालेर प्रदर्शन गरेको हो ।

काठमाडौंमा रञ्जित तामाङ नेतृत्वमा अनेरास्ववियूले आज माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म लालटिन बालेर प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेपछि प्रचण्ड नेपाल समूह विरोधमा छ ।

विरोध अन्तर्गत अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन घोषणा गरेको थियो । उनीहरूले ‘दिउँसै लालटिन बाल्यौं है, संविधानमा संसद विघटनको धारा खोइ ?’ जस्ता नारा लगाएर पनि प्रदर्शन गरेका छन्।

विरोध कार्यक्रम अन्तर्गत पुस २२ गते उपत्यकामा लाल्टिन जुलुस र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन,सिठ्ठी र लाठी जुलुस प्रर्दशन गर्ने, पुस २३ गते देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन, पुस २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना, पुस २५ गते असंवैधानिक कदम विरुद्ध सडक बहस कार्यक्रम, पुस २६ गते बयलगाडा प्रर्दशन, पुस २७ गते प्रतिगमन विरुद्ध सडक कविता,गीत,गजल कार्यक्रम, पुस २७ गते सडक नाटक,सडक आर्ट र पुस २९ गते सडकमा प्ले कार्डसहित कार्टुन प्रर्दशन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।

सह-संयोजक रञ्जित तामाङद्धारा जारी विज्ञप्तिमा शैक्षिक संघर्षका कार्यक्रम अन्तर्गत संघीय संसदबाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी,लिपुलेक र लिम्पियाधुरा सहितको नक्सामा भएको भूमि फिर्ता गर्न र उक्त भूमि सहित शिक्षा मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न संघर्ष गर्ने, कक्षा ११ को पाठ्याक्रममा देखिएको अन्योलता तत्काल अन्त्य गर्न दबावमूलक कार्यक्रम सञ्चालन गर्ने भनिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !