४ आश्विन २०८१, शुक्रबार

पश्चिमी क्षेत्रमा हिमाल आरोहणलाई चलायमान बनाउने प्रयास,धम्पुस हिमालको आरोहणसँगै तालिम

प्रकाशित मिति :  7 January, 2021 1:22 pm


काठमाडौं । धम्पुस हिमाल आरोहण प्रर्वद्धनका लागि पहल सुरु भएको छ ।

कोरोनापछि पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्न भन्दै धम्पुस हिमालको आरोहण र आरोहण सम्बन्धि तालिमका लागि उक्त क्षेत्रमा ट्रेकिङ प्रर्वद्धनका लागि हिमालय पर्वतारोहण संघ केन्द्रीय समिति र गण्डकी प्रदेश कमिटीबीच छलफल भएको छ ।

हिजो काठमार्डौमा भएको छलफलमा धम्पुस हिमाल प्रर्वद्धनका लागि एक टोलीले आरोहण गर्ने र तालिम सञ्चालन गर्ने निर्णय भएको छ । संघका महासचिव कुलबहादुर गुरुङले भने,“पश्चिमी क्षेत्रमा अलि हिमाल आरोहणको चहलपहल कम भयो भन्ने गुनासो पनि आयो र कोरोनापछि प्रर्वद्धनको कार्यमा पनि लाग्नुपर्ने भएकाले छलफल भएको छ ।” संघले प्रावधिक सहयोग गर्ने भएको छ ।

संघका गण्डकी प्रदेश अध्यक्ष शेषकान्त शर्माले गण्डकी प्रदेशलाई पर्यटनको राजधानी भनेपनि पर्वतारोहणसम्बन्धी दक्ष जनशक्ति नभएकाले यो कार्यक्रम शुरु गरिएको बताए ।

उनले भने,“ हामीले गण्डकी प्रदेशलाई पर्यटनको राजधानी भन्ने तर यसो भनिरहँदा पर्वतारोहणबारे काम जानेको अथवा अनुभवी पथपर्दशक अथवा त्यससँग सम्बन्धित दक्ष जनशक्ति नभएको अवस्था, त्यसैलाई मध्यनजर गर्दै आरोहणको प्रचारात्मक हिसाबले र एउटा तालिम पनि हुने अर्थात हिमालमै सिक्ने गरि कार्यक्रम तय गरिएको छ ।”

कार्यक्रम अनुसार सक्नेले धम्पुस हिमाल नै आरोहण गर्नेछन् भने नसक्नेले वेस क्याम्पमा बसेर तालिम लिने छन् । अध्यक्ष शर्माले १० जना हिमाल आरोही नै जानेछन् भने २ जना प्रशिक्षक, संघका कार्यसमिति तथा अन्य सहभागि १२ जना गरेर २४ जनाको टोली रहने जानकारी दिए । आरोहण टोली पुस २७ गते हिँडेर माघ ५ गते पोखरा फर्कने छ ।

धम्पुस हिमाल आरोणका लागि उपयुक्त भएपनि अहिलेसम्म व्यवस्थित आरोहण हुन सकेको छैन । धौलागिरि क्षेत्र ट्रकिङ गर्नेले चोरेर आरोहण गर्ने गरेको अध्यक्ष शर्माको भनाई छ । उनले भने, “यो हिमाल आफैमा एउटा सुन्दर भ्यू प्वाईन्टपनि रहेछ तर यसको त्यति धेरै प्रचार छैन । आरोहण कत्तिपनि नभएको भन्ने होईन ।”

६०१२ मिटर अग्लो धम्पुस पोखराबाट मुस्ताङको मार्फासम्म गाडीमा गएपछि दुई दिन हिँडेर धम्पुस हिमालको बेस क्याम्पमा पुग्न सकिन्छ ।

उनले भने, “यो हिमाल नेपाली साहसिक पर्यटन चाहनेका लागि पनि एकदमै उपयुक्त छ र विदेशीहरुका लागि पनि यो आकर्षणको केन्द्र हुनसक्छ भन्ने हिसाबले यसको प्रर्वन र प्रचारमा लागेका हौं ।” मार्च देखि मे र सेप्टेम्बरदेखि नोमेम्बर धम्पुस आरोहणका लागि सबैभन्दा उपयुक्त सिजन मानिन्छ ।



प्रतिक्रिया दिनुहोस !