४ आश्विन २०८१, शुक्रबार

पार्टी एकताका लागि छुट्टै संगठन बनाएर जाने बामदेव गौतमको घोषणा

प्रकाशित मिति :  7 January, 2021 1:41 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बाम देव गौतले पार्टी एकताका लागि छुट्टै संगठन बनाएर जाने घोषणा गरेका छन् ।

राष्ट्रिय सभामा प्रवेश गरेपछि पहिलो पटक बोल्दै उपाध्यक्ष गौतमले आफूले पार्टी जोगाउन पटक पटक प्रयास गरेपनि सफल हुन नसकेको भन्दै एकता दाबावका लागि छुट्टै संगठन बनाएर जाने घोषणा गरेका हुन् ।

आफू कुनै गुटमा नरहेको पनि उनले प्रष्ट पारे । उनले भने, “म अझै एकताको पक्षमा छु । एकता अपरिहार्य छ र एकताका लागि आफै संगठन निर्माण गरेर जाने पक्षमा छु ।”

आफ्ना सबै परिवार कांग्रेसको भएपनि सानैदेखि आफू कम्युनिष्ट आन्दोलनमा लागेको स्मरण गरे । उनले आफ्नो एउटा सपना एकीकृत कम्युनिष्ट पार्टी भएको भन्दै अहिले पार्टी विभाजित हुन दुर्भाग्यपूर्ण रहेको बताए । अहिले पार्टी एकता जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले त्याग गर्न नसकेको बताए ।

आविश्वासको प्रस्ताव आउनु अघि नै प्रधानमन्त्री ओलीले राजिनामा दिएर पार्टी एक बनाउन सकेको भए उपयुक्त हुने थियो भन्दै आफू उक्त ठाउँमा भए त्यसै गर्ने गौतमको भनाई थियो । आफ्नै प्रधानमन्त्रीमाथी अविश्वासको प्रस्ताव ल्याउनु पनि गलत भएको उनले बताए ।

यसअघि पनि पटक पटक अविश्वासको प्रस्तावलाई आफूले रोकेको भन्दै पछिल्लो पटक दर्ता हुँदा आफूलाई जानकारी नभएको बताए । संसद विघटन गर्दापनि प्रधानमन्त्री ओलीले कुनै छलफल नगरेको बताए । प्रतिनिधि सभाको विघटनसम्बन्धि मुद्धा सर्वोच्च अदालतमा भएकाले धेरै टिप्पणी नगर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !