१० मंसिर २०८१, सोमबार

बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह कृषि मन्त्रालयको आग्रह

प्रकाशित मिति :  7 January, 2021 2:29 pm


काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले मातहतका सातवटा सीमा नाका कार्यालयलाई पत्र पठाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरे कुखुराजन्य वस्तुको आयातमा रोक लगाउँदै उच्च सतर्कता अपनाउन नाकामा रहेका क्वारेन्टाइन कार्यालयलाई निर्देशन दिइएको जानकारी दिए ।

“नेपालमा भारतको हिमाञ्चल प्रदेशबाट बर्डफ्लू भित्रने सम्भावना उच्च रहेको छ । सङ्क्रमणलाई ध्यानमा राख्दै केही समय हिमाञ्चलसँगै भारतबाट भित्रिने कुखुराजन्य प्रजातिका वस्तुको आयातमा रोक लगाइएको हो”, उनले भने ।

उनका अनुसार सीमा नाका कार्यालयसँगै मन्त्रालयले तराईका केही जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउँन समेत आग्रह गरेको छ । “खुला सीमानाका हुँदा सीमाभन्दा बाहिरबाट समेत कुखुरा भित्रने सम्भावना उच्च रहेको छ, बर्डफ्लू नियन्त्रण आदेशको अधिकार प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीलाई सम्पर्कमा बस्न आग्रह गरिएको हो”, उनले भने , “लुकाएर ल्याइएका कुखुरा नष्ट गर्ने, कुखुरा ल्याउनेलाई कारवाहीको सम्पूर्ण अधिकारी जिल्लाका प्रमुखलाई   रहन्छ ।”

मन्त्रालयले काँकडभिट्टा, वीरगञ्ज, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, कैलाली तथा गड्डाचौकी नाका , प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन र आवश्यक परे प्राविधिक तथा अन्य स्रोत साधनको प्रयोग र थप जनशक्ति माग गर्न विशेष निर्देशन दिएको हो ।

मन्त्रालयले भारतबाट कुखुरा आयात गर्ने व्यवसायीलाई समेत उच्च सतर्कतामा रहन आग्रह गरेको छ । नेपालमा बर्डफ्लू सङ्क्रमण भित्रन नदिन केही समय कुखुरा आयातमा रोक लगाइएको जनाउँदै व्यवसायीलाई समेत सतर्कता अपनाउन आग्रह गरिएको प्रवक्ता घिमिरे जानकारी दिए ।

मन्त्रालयअन्तर्गत देशभर १६ पशु क्वारेन्टिन कार्यालय छन् । देशभर कतै ठूलो परिमाणमा कुखुरा मरे वा शङ्कास्पद लक्षण देखिए तुरुन्त मन्त्रालय वा नजिकैको कार्यालयमा सम्पर्क गर्न पनि मन्त्रालयले कृषकलाई आग्रह गरेको छ । भारतको मध्य प्रदेश, केरला, राजस्थान र हिमाञ्चल प्रदेशमा बर्डफ्लू पुष्टि भएको छ ।



प्रतिक्रिया दिनुहोस !