२१ आश्विन २०८१, सोमबार

भैँसेगौंडामा भेटिए ११५ प्रजातिका चरा

प्रकाशित मिति :  8 January, 2021 2:28 pm


स्याङ्जा । मिलेनियम ट्रेक (सहस्राब्दी पदमार्ग) अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका–२ भैँसेगौंडामा ११५ प्रजातिका चरा भेटिएका छन् । तनहुँको दुलेगौंडा हुँदै स्याङ्जाको रामबाछा जोडिने सो पदमार्गमा ११५ प्रजातिका चरा फेला परेको प्रकृतिका साथीहरू संस्थाको आयोजनामा हालै सम्पन्न अध्ययन अनुसन्धानका क्रममा भेटिएको हो ।

चराको अध्ययन अनुसन्धान गर्न आयोजित १९ दिने वन्यजन्तु अनुसन्धान विधि तालीममा देशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने १३ जना सहभागीले प्रत्यक्षरुपमा चरा, पुतली आदिको अध्ययन एवं अवलोकन गरेका थिए ।

“तालीमका क्रममा सहभागीले जङ्गलमा रहेका चरा, पुतली एवं स्तनधारी प्राणीको पहिचान, तिनको अनुसन्धान विधि आदिबारे जानकारी प्राप्त गरेका छन”, प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यले भने “सहभागीलाई चरा, पुतली एवं स्तनधारी प्राणी सम्बन्धमा जानकार विषय विज्ञबाट पनि अध्यापन गराएको थियो ।”

कोरोना महामारीलाई दृष्टिगत गर्दै संस्थाले तालीमपूर्व सहभागीको पिसिआर परीक्षण गरेको थियो भने तालीम अवधिमा स्वास्थ्य सुरक्षा मापदण्डलाई कार्यान्वयन गरिएको थियो । संस्थाका तर्फबाट नौ वर्षदेखि तालीम आयोजना गर्दै आएको जानकारी दिँदै आचार्यले यसअघि पर्वतको चित्रे र नवलपरासीमा तालीम सम्पन्न भइसकेको बताए ।

अघिल्लो वर्ष भैँसेगौंडामा गरिएको लाटोकोसेरो महोत्सवले यस स्थानको गरिमा र महत्वलाई बढाएको बताउने मिलेनियम भैँसेगौंडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङ वन्यजन्तु अनुसन्धान तालीमले यहाँको पर्या–पर्यटनको विकासमा अझै योगदान पु¥याएको बताए । “भैसेगौंडा मात्र नभई समग्र सहस्राब्दी पदमार्गमा चरा पर्यटनका धेरै सम्भावना रहेको कुरा पुष्टि भइसकेको छ”, उनले भने, “चरा पर्यटनको सम्भावनालाई उजागर गर्न पोखरा पक्षी समाजसँगको सहकार्यमा चरा गणना कामलाई पनि जारी राखिएको छ ।”

पदमार्ग क्षेत्रमा गरिएको हालसम्मको अध्ययनबाट १३७ प्रजातिका चरा पाइएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो । सहस्राब्दी पदमार्गमा ५२ किलोमिटर वन क्षेत्र रहेको छ । यहाँ नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुर पदयात्रा मार्गका विभिन्न स्थानमा पर्याप्त सङ्ख्यामा देख्न सकिन्छ ।

पदमार्ग क्षेत्रमा संरक्षणको सूचीमा रहेको लुँइचे, मांसाहारी प्रजातिका चरा पदमार्ग क्षेत्रमा भेटिएका छन् । सुन गिद्ध, डङ्गर गिद्ध, सेतो गिद्धलगायत गिद्धका साथै कोला चित्रा, आसकोटे बकुल्ला, वस्तु बकुल्ला, पौरी वाज, बौडाइ, कालो चिल, काकाकुल, बनवाज, मोरङ्गी चिल, सिम कुखुरा, मलेवा, तामे ढुकुर, कुर्ले ढुकुर, पहाडी हलसो, चित्रकुट, कण्टे सुगा, मधुवा, ढोडे गोकुल, हरित मालकौवा, बिउकुहियो, लेकाली उलुक, कटुसटाउेक मुरलीचरा, कुथुर्के, काष्ठकुट, सुनजुरे काठफोर, लटुुशक विरहीचरी, सानो तामे लाहाँचे, आली चुइयाँ, कोटेरो मुनियाँ, पिराजा बुङ्गेचरालगायतका प्रजातिका चरा भेटिएका छन् ।

भैँसेगौंडामा मात्रै ११५ प्रजातिका चरा पाइनुले यहाँको पर्यटकीय विकासमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । भैँसेगौंडा नजिकै रहेको राङभाङ (ओढार)लाई पनि पर्यटनसँग जोड्ने लक्ष्यका साथ स्थानीयवासी लागेका छन् । कुनै समय भूतेभ्वाङका रुपमा परिचित स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं ३ स्थित रहस्यमय भ्वाङलाई स्थानीयवासीले राङ्भाङ भन्दै आएका छन् ।

सयौँ वर्ष पुरानो अनुमान गरिने भ्वाङलाई साहसिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्न स्थानीय राङ्भाङ युवा क्लबले सक्रियता देखाएको छ । क्लबका अध्यक्ष बालकुमार गुरुङका अनुसार बूढापाकाले तत्कालीन समयमा ‘त्यस ठाउँमा भूत बस्छ भन्दै’ बालबालिकालाई जान रोक्दथे । भ्वाङको संरक्षण र प्रवद्र्धनमा पहल शुरुआत गरिएको उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !