३ आश्विन २०८१, बिहिबार

पूर्वलडाकू कमाण्डर खाम भित्राउन नेकपाका दुबै समूह सकृय, मुद्दा सल्टाउनुपर्ने खामको सर्त

प्रकाशित मिति :  10 January, 2021 8:35 am


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजनपछि तत्कालिन माओवादीका डिभिजन कमाण्डर कालिबहादुर खाम ‘विविध’फेरि चर्चामा आएका छन् ।

काठमाडौं कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोप लागेका खाम नेकपा विभाजनपछि चर्चामा आएका हुन् । झण्डै १२ वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका खामलाई आफ्नो समूहमा तान्न अहिले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड नेपाल समूह लागिरहेको छ ।

माओवादी जनयुद्धमा सफल र साहसी सैन्य कमाण्डरका रूपमा परिचित खाम शान्ति प्रक्रियामा आएपछि श्रेष्ठ हत्या अभियोगमा फरार सूचीमा रहे र गुमनाम झण्डै छन् । आफूसँगैका सहकर्मीहरुले राजनीतिक लाभ लिइरहेका बेला फरार अभियुक्तका रुपमा छन् । केही दिन पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले नै उनको नाम सार्वजनिक कार्यक्रममै लिएका थिए ।

ओलीले खामलाई आफ्नो समूहमा ल्याउन पूर्वमाओवादी नेताहरु परिचालन गरिरहेका छन् । प्रचण्ड समूहपनि खामसँग छलफलमै छ । खाम निकट एक पूर्वलडाकूले भने, “छलफल दुबैतिर चलिरहेको छ,प्रस्ताव पनि आएको छ तर उहाँको चासो अहिले राजनीतिमा भन्दापनि आफ्नो केशको छ ।”

यतिबेला खामले आफ्नो मुद्दा सल्टाउने उपयुक्त मौका देखेका छन् । ति पूर्वलडाकूले भने, “उहाँ अहिले पार्टीतिर भन्दा पनि आफ्नो मुद्दा कताबाट सहज हुन्छ भन्नेतिर सोंचिरहनुभएको छ ।”

उनका अनुसार खामले कुनै समूहमा प्रवेश गर्नुअघि आफ्नो मुद्दा सहजै टुंगाउने सर्त राखेका छन् । खाम निकट पूर्वलडाकूले भने, “उहाँ प्रचण्ड वा केपी ओली नै भन्ने छैन जसले मुद्दामा सहयोग गर्छ उतै जानुहुन्छ ।”



प्रतिक्रिया दिनुहोस !