३ आश्विन २०८१, बिहिबार

ओली पक्षको रणनीति : संगठनबाट कसैलाई नहटाउने तर ५० प्रतिशत आफू पक्षीय सदस्य मनोनयन गर्ने

प्रकाशित मिति :  11 January, 2021 9:14 am


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  विभाजनपछि ओली समूहले साविक संगठनमा कसैलाई नहटाउने तर बहुमत पुराउने रणनीति लिएको छ ।

ओली समूहको पछिल्लो अन्तर पार्टी निर्देशनमा संगठनात्मक व्यवस्थापनका सम्बन्धमा भन्दै उक्त रणनीति लिएको हो । निर्देशनमा ‘तत्काल कसैलाई कमिटीबाट नहटाउने तर आवश्यकता अनुसार कमिटीमा बढीमा ५० प्रतिशत सम्म सदस्य संख्या मनोनयनका लागि गृहकार्य गर्ने’ भनिएको छ ।

ओली समूहले कमिटीका अध्यक्ष र आफू पक्षधर रहेका कमिटीहरूको तत्काल बैठक बसी पार्टी कामलाई गतिशील बनाउन भनेको छ । साथै अध्यक्ष आफ्ना पक्षमा नभए सचिवको अगुवाइमा अभियानको नेतृत्व गर्ने अन्तर पार्टी निर्देशनमा भनिएको छ ।

उक्त सर्कुलरमा भनिएको छ, ‘कमिटीका अध्यक्ष यस अभियानको पक्षधर नभएको ठाउँमा सचिव भए उहाँको अगुवाइमा, अन्यथा पार्टीका जेष्ठ या वरिष्ठ सदस्यको अध्यक्षतामा बैठक बसी पार्टी कामलाई गतिशील
बनाउने’ उल्लेख छ ।

एक तह माथीको कमिटी वा संयोजकको निर्देशनमा भावी नेतृत्वका बारेमा आवश्यक निर्णय लिने पनि उक्त निर्देशनमा छ । जनवर्गीय संगठनको हकमा पनि यस्तै विधि अपनाउन भनिएको छ ।

पुस ५ गते नेकपा विभाजनपछि एउटा समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरिरहेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड-नेपालले गरिरहेका छन् । पार्टीको आधिकारिकताबारेको मुद्दा निर्वाचन आयोगमा विचाराधिन छ । पार्टी विभाजनपछि दुबै पक्षले एकले अर्कोलाई पदबाट हटाएको बताएपनि कारबाही नै गरिसकेका भने छैनन् ।

दुबै पक्षले एकले अर्कोलाई कमिटी वा साधारण सदस्यबाट नहटाउने तर आफ्नो बहुमत पुराउने रणनीति लिएको देखिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !