३ आश्विन २०८१, बिहिबार

निर्वाचन प्रकृया रोक्न प्रचण्ड-नेपाल समूहद्धारा आयोगलाई आग्रह, विचाराधीन मुद्दा प्रभावित हुने तर्क

प्रकाशित मिति :  11 January, 2021 4:20 pm


काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले निर्वाचन प्रक्रियाका काम रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

अध्यक्षद्धय प्रचण्ड र नेपालसहितका नेता निर्वाचन आयोग पुगेर प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दा प्रभावित हुने भन्दै निर्वाचन प्रकृया रोक्न माग गरेका हुन् । निर्वाचन आयोगमा रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सँग सम्बन्धित कागजातहरुको प्रतिलिपि पनि प्रचण्ड नेपाल समूहले माग गरेको छ ।

उक्त समूहले २०७५ जेठ ३ गते नेकपा दल दर्ता गर्दा बुझाएका र त्यसपछि अद्यावधिक गरिएका सबै कागजात माग गरेको हो ।

छलफलका क्रममा निर्वाचन आयोगले निर्वाचन घोषणा भइसकेपछि मतदाता नामावली थपघट रोक्ने र स्थायी प्रकृतिको काम, मतदान केन्द्रहरु टुंगो लगाउने प्रारम्भिक काम मात्रै गरिएको, अन्य काममा प्रवेश नगरेको बताएको नेता लिलामणी पोख्रेलले जानकारी दिए ।

पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा विघटनपछि नेकपा विभाजित भएको छ । अहिले आधिकारिकता सम्बन्धि विवाद निर्वाचन आयोगमा विचाराधीन छ । विभाजित नेकपाको एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्माले गर्दै आएका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड-नेपालले गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !