५ आश्विन २०८१, शनिबार

सरकारद्वारा चुनावका लागि छलफल सुरु,तयारीमा लाग्न सुरक्षा निकायलाई गृह मन्त्रीको निर्देशन

प्रकाशित मिति :  11 January, 2021 8:07 pm


काठमाडौं । सरकारले चुनावका लागि छलफल सुरु गरेको छ । गृह मन्त्रालयले आज प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न भन्दै छलफल गरेको छ ।

छलफलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अर्थमन्त्री विष्णु प्रसाद पौडेल, गृह सचिव, अर्थ सचिव र तीन वटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थित थिए ।

बैठकमा गृह मन्त्रालय तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको तर्फबाट हाल मौजुदा श्रोत साधन तथा निर्वाचन प्रयोजनमा आवश्यक पर्ने थप श्रोत साधन व्यवस्थापन सम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत भएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जनाएका छन् ।

प्रतिनिधि सभा विघटन गर्दै सरकारले आगामी २०७८ साल बैशाख १७ र २७ गते निर्वाचनको मिति तोकेको छ । बैठकमा गृह मन्त्री थापाले मुलुक प्रतिनिधि सभाको आगामी निर्वाचन तर्फ केन्द्रित भईसकेकोले निर्वाचन सुरक्षाको लागि आवश्यक तयारी गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतका निर्वाचनमा भएको खर्च विश्लेषण गरी मितव्ययितालाई ध्यान दिई निर्वाचन केन्द्रित बजेट प्रस्ताव गरी गृह मन्त्रालय मार्फत पठाउन सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् । निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने बजेटको अभाव हुन नदिइने प्रतिवद्धता अर्थमन्त्री पौडेलको थियो ।

प्रवक्ता बुढाद्धारा जारी विज्ञप्तिमा भनिएको छ,निर्वाचनको पक्षमा क्रमश माहौल बन्दै गइरहेको बर्तमान अवस्थामा लोकतान्त्रिक अभ्यासमा संलग्न राजनीतिक दल लगायत सबै सरोकारवालाहरूले आआफ्ना कार्यक्रम तथा गतिविधि सञ्चालन गर्दा विगतमा जस्तै शान्तिपूर्ण रूपले गर्नुरगराउनु हुन गृह मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।



प्रतिक्रिया दिनुहोस !