३ आश्विन २०८१, बिहिबार

पूर्वसहकर्मीलाई प्रचण्डको प्रश्न, ‘मलाई लाज लाग्छ ! जनयुद्वलाई कुहिएको फर्सी भनेको कसरी सुन्न सकेको हो ?’

प्रकाशित मिति :  12 January, 2021 3:19 pm


पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्वलाई कुहिएको फर्सी भनेको भन्दै आपत्ति जनाएका   छन् ।

पोखरामा भएको बृहत कार्यकर्ता भेलामा बोल्दै प्रचण्डले केपी ओलीलाई साथ दिएका पूर्वमाओवादी नेताहरुले जनयुद्वलाई कुहिएको फर्सी भनेको कसरी सुन्न सकेको भन्दै प्रश्न गरे । उनले भने, “मलाई लाज लाग्छ, अहिले जो केपी ओलीसँगै जानुभएको छ,प्रतिगमनको साझी भएर बस्नु भएको छ, ति साथीहरुले जनयुद्वलाई कुहिएको फर्सी भनेको कसरी सुन्न सकेको हो ?”

पूर्वमाओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणी थापालगायतका नेता अहिले प्रचण्डको साथ छोडेर ओलीसँग छन् ।

ओलीले काठमाडौंमा केही समय अघि भएको कार्यक्रममा बोल्दै प्रचण्डले भन्दै आएको जनयुद्व अहिले कुहिएको फर्सी भएको टिप्पणी गरेका थिए । ओलीको भनाईप्रति आपत्ति जनाउँदै प्रचण्डले यो सिद्धान्तप्रतिको घात भएको उल्लेख गरे ।

पार्टी एकीकरण गर्दा हस्तक्षर गरिएको दस्तावेजमा जनयुद्वले राजनीतिक जागरण ल्याउन, संविधान सभाको वातावरण बनाउन र संघीय लोकतान्त्रिक संविधान बनाउन मुख्य भूमिका खेलेको उल्लेख भएको समेत उनले स्मरण गराए ।

अहिलेपनि उक्त दस्तावेज जीवित रहेको भन्दै प्रचण्डले प्रश्न गरे,”ओली जिले त्यो दस्तावेजमा गरेको हस्ताक्षर किर्ते हो ? जालसाझी भयो भनेर उहाँ भन्न सक्नुहुन्छ ?”



प्रतिक्रिया दिनुहोस !