५ आश्विन २०८१, शनिबार

जी न्यूजको आपत्तिजनक कार्यक्रम,‘सगरमाथामाथि भारतले दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्ने’

प्रकाशित मिति :  13 January, 2021 7:43 am


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अन्तर्वार्ता दिएको भारतीय टेलिभिजन च्यानल जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथालाई भारतले दाबी गर्नुपर्नेभन्दै भारतीय नाम दिने अभियान थालेको छ।

प्रधानमन्त्री ओलीको अन्तर्वार्ता बजाएको अर्को दिन जी न्यूजले सगरमाथामा भारतीयले दावा ठोक्नु पर्ने भन्दै आपत्तिजनक सामग्री प्रसारण गरेको छ।  प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिने उक्त टेलिभिजनका सम्पादक सम्पादक सुधीर चौधरीले नै सगरमाथाबारे आपत्तिजनक सामाग्री प्रशारण गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिन गत आइतबार काठमाडौं आएका चौधरीले हेलिकप्टरमा सगरमाथा आधार शिविर पुगेको बताएका छन्। उनले सगरमाथाको नाम माउन्ट सिकदर हुनुपर्छ भनेका छन् ।

भारतीय गणितिज्ञ राधानाथ सिकदर सगरमाथाको उचाइ नापेकाले उनको नाममा सगरमाथाको नामाकरण हुनु पर्ने उनको तर्क गर्दै भनेका छन्, यस (सगरमाथा) को नाम परिवर्तन गर्न अभियान सुरू गरेका छौं।

उनले ‘माउन्ट एभरेस्ट’को नाम ‘माउन्ट सिकदर’ हुनुपर्छ भन्ने अभियान सुरु गरेको समेत बताएका छन् ।

उनले भनेका छन्,”हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपथ्र्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्ने ।”

उनले दर्शकहरूलाई जी न्यूजको यो अभियानमा सरिक हुन र आफ्नो तर्फबाट सामाजिक सञ्जालमार्फत् सगरमाथाको नाम परिवर्तनको अभियान चलाउन आह्वान गरे। उनले भने,”म आज राधानाथ सिकदरलाई याद गर्दछु । तपाईंहरू सबैको तर्फबाट, पूरै भारतवासीको तर्फबाट । उनले नै यो शिखरलाई पहिलोपटक मापन गरेका हुन् । यति ठूलो काम उनले गरे । त्यसैले माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस !