५ आश्विन २०८१, शनिबार

निर्वाचनलाई रकम अभाव हुन नदिने बताएको सरकार कोरोना खोपका लागि ‘दान’ माग्दै

प्रकाशित मिति :  13 January, 2021 1:18 pm


काठमाडौं । सरकारले कोरोना विरुद्धको खोप भित्राउनका लागि रकम सहयोग गर्न सार्वजनिक अपिल गरेको छ ।

चुनावको तयारीमा लागिरहेको सरकारले खोपका लागि भने सार्वजनिक सूचना जारी गरेरै योगदान गर्न आग्रह गरेको छ । सरकार भने झण्डै २५ देखि ३० अबै रुपैयाँ खर्च हुने निर्वाचनको चटारोमा छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा भनेको छ, “खोप प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणाली मार्फत लक्षित समूहहरुलाई निःशुल्क उपलब्ध गराउन सरकारबाट आवश्यक तयारी भइरहेको छ । सो खोपले हजारौंको जीवन रक्षा गर्नुका साथै महामारी नियन्त्रण हुन गई आर्थिक तथा सामाजिक क्रियाकलाप सुचारु गर्न समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ ।”

लक्षित समूहहरुलाई निःशुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएको भन्दै स्वास्थ्य मन्त्रालयले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संस्था लगायतलाई रकम जम्मा गरिदिन भन्दै खाता उपलब्ध गराएको छ । रकम जम्मालाई सरकारले ‘योगदान’ भनेको छ ।

स्वास्थ्य मन्त्रालयको सूचनामा कोषमा योगदान गर्ने दाताहरुसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकम परिचालन र खर्चको समीक्षा गरिने भनिएको छ ।

प्रतिनिधि सभा विघटन गरेर आउँदो वैशाखमा चुनाव घोषणा गरेको सरकारले त्यसका लागि रकमको अभाव हुन नदिने भन्दै आएको छ । तर कोरोना महामारीबाट खोप भित्राउन भने योगदान गर्न भनेको छ ।

स्वास्थ्य मन्त्रालयका सहायक सूचना अधिकारी गणेश श्रीवास्तवले सरकारलाई खोप भित्राउन ठूलो रकम आवश्यक भएकाले सहयोगको आव्हान गर्दै सूचना जारी गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस !