५ आश्विन २०८१, शनिबार

नयाँ संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै प्रश्न उठ्नु दुःखद कुरा हो :उपराष्ट्रपति पुन

प्रकाशित मिति :  14 January, 2021 8:39 am


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ज्युले माघेसकराती/माघे संक्रान्ति/माघी पर्व–२०७७ को शुभ अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

शुभकामनामा उपराष्ट्रपतिले भनेका छन्,“नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण छ । यहाँका हरेक समुदायका आ–आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति, रितिरिवाज र धार्मिक एवम् सांस्कृतिक चाडहरु छन् । हाम्रो देश सामाजिक सद्भाव र सौहार्दताका लागि विश्वकै नमूना राष्ट्र हो ।”

माघे संक्रान्ति मनाउँदै गर्दा देशमा राजनीतिक संकट भने गहिरिदै गएको दुःखद दृष्यहरु देखिएको भन्दै उपराष्ट्रपति पुनले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै जनस्तरबाट असन्तुष्टी र विरोध बढ्दै गएको देखिएकामा चिन्ता व्यक्त गरेका छन् ।

उनले भनेका छन्,“सातदशक लामो संघर्षपछि प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालाई संस्थागत गरेको संविधानको संरक्षण र पालन हुनुपर्नेमा त्यसो हुन नसकेको भनी प्रश्न उठ्दै र आवाज बढ्दै गएको छ । नयाँ संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै यसरी प्रश्न उठ्नुपर्ने अवस्था सिर्जना हुनु ज्यादै दुःखद कुरा हो ।”

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्ण पालन र संरक्षण अनिवार्य भन्दै उपराष्ट्रपति पुनले संविधानको संरक्षण र पूर्ण पालनका लागि सबै पक्ष जिम्मेवार भएर आफ्नो कर्तव्य पुरा गर्नुपर्नेमा जोड दिएका छन् ।

आफ्नो सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गरेको संविधानको रक्षाका लागि जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पुरा गर्नुपर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !